प्रधानमन्त्री सिंहलाई राष्ट्रमण्डल बैठक बहिष्कार गर्न दबाब

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते ०:२८ मा प्रकाशित

नयाँ दिल्ली, १९ कात्तिक–भारतका वातावरण मन्त्री जयन्ति नटराजनले प्रधानमन्त्री मनमोहन सिंहलाई मानवअधिकार उल्लङ्घनलाई ध्यान दिइ श्रीलङ्कामा आयोजना हुने राष्ट्रमण्डलीय शिखर बैठक बहिष्कार गर्न आग्रह गरेका छन । यसअघि प्रतिपक्षी दलहरूले सरकारलाई यस्तै आग्रह गरेका थिए ।Manmohan-Singh
प्रधानमन्त्री सिंहले आदिवासी तमिल जनताको बलियो मनोभावनालाई बिचार गरी कोलम्बोमा आउँदो साता आयोजना गरिने राष्ट्रमण्डलीय सरकार प्रमुखहरूको बैठकमा भाग नलिन मन्त्री नटराजनले सोमबार आग्रह गरेका हुन ।
तमिल भाषामा आफूले प्रधानमन्त्रीलाई उक्त बैठकमा भाग नलिन पत्र लेख्ने उनले बताए । भारतीय राष्ट्रिय टेलिभिजनहरूले उनको भनाइलाई अङ्ग्रेजी भाषामा अनुवाद गरिदिएका छन् ।
उनले आफूले प्रधानमन्त्रीलाई भेटका लागि आग्रह गरेको र उनको श्रीलङ्का भ्रमणका विषयमा तमिल नाडुका जनताको बलियो भावनाका विषयमा जानकारी दिन चाहेको बताए ।
सत्ताधारी कङ्ग्रेस पार्टीका सदस्य मन्त्री नटजनले भारतको दक्षिणी भागमा अवस्थित तमिल नाडु राज्यको केन्द्र चेन्नईमा त्यस्तो धारणा व्यक्त गरेका हुन । यहाँको जनताको श्रीलङ्काको तमिल जनतासँग नजिकको सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहेको छ ।
पानीजहाज मन्त्री जी.के. वासनले पनि श्रीलङ्काको पृथकतावादी युद्धको अन्तिम महिनामा हजारौँ अल्पसङ्ख्यक तमिल जनता मारिएको भन्दै सरकारलाई यस्तो आग्रह गरेका थिए । उनी पनि राष्ट्रिय संसदमा तमिल नाडुलाई प्रतिनिधित्व गर्छन ।
भारतमा राष्ट्रिय निर्वाचन अगाडि आइरहेको समयमा राजनीतिका दुबै पक्ष महत्वपूर्ण निर्वाचन क्षेत्र तमिल नाडुका जनतालाई चिढ्याउन चाहँदैनन् ।
भारतको विदेश मन्त्रालयका प्रवक्ताले गत साता प्रधानमन्त्री सिंहले नोभेम्बर १५ देखि १७ सम्म कोलम्बोमा हुने बैठकमा भाग लिने कि नलिने भन्ने विषयमा निर्णय भइनसकेको बताएका थिए ।
क्यानडाका प्रधानमन्त्री स्टिफन हार्परले अप्रिल महिनामा आफ्ना समकक्षीहरूलाई ५३ मुलुक सदस्य रहेको राष्ट्रमण्डलको शिखर बैठक बहिष्कार गर्न आग्रह गरेका थिए ।
सन् २००९ मा तमिल विद्रोहीविरुद्ध सेनाको अन्तिम कारवाहीमा करिब ४० हजार नागरिकको मृत्यु भएको आरोप मानवअधिकारवादी संस्थाहरूले लगाएका छन् भने यस विषयमा अनुसन्धान गर्न अन्तर्राष्ट्रिय समुदायले गरेको मागलाई कोलम्बोले अस्वीकार गरेको छ ।
द्रविड मुनेत्र कडगमले पनि भारतले यो शिखर बैठक बहिष्कार गर्नुपर्ने माग गरेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us