अमेरिकाले नेता मारेपछि नयाँ नेता छान्दै तालिवान, अमेरिकी विमानमाथि आक्रमण सुरु

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते १३:३८ मा प्रकाशित

Taliban_Top_Commander_पाकिस्तान, १६ कात्तिक– पाकिस्तानमा सशस्त्र विद्रोह गरिरहेको तालिवान समूहका नेताको अमेरिकी हवाई आक्रमणमा मृत्यु भएपछि तालिवानहरुले अर्काे नेता छान्ने तयारी गरिरहेको बताइएको छ ।

अमेरिकाद्वारा आतङ्ककारी घोषित सो सङ्गठनका प्रमुख हकिमुल्लाह मेहसुदको मृत्युपछि तालिवानहरुले अर्काे नेता चयन गर्ने प्रयोजनका लागि शनिबार बैठक गरिरहेका विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानी तालिवान कमान्डर हकिमुल्लाह मेहसुदको अमेरिकी चालकविहीन विमानको आक्रमणमा परी शुक्रबार मृत्यु भएको हो । उनको मृत्युको सो संस्थाले पनि पुष्टि गरेको छ । उनको आजै अन्त्येष्टि पनि गरिएको छ । मेहसुद पाकिस्तानमा रहेका तालिवानहरुको सङ्गठन प्रमुख तथा प्रमुख कमाण्डर पनि थिए । उनलाई अमेरिकी सरकारले पनि सर्वाधिक खोजीको आतङ्ककारीको सूचीमा राखेको थियो ।

अमेरिकी विमानमाथि नै आक्रमण सुरु

उनको विषयमा जानकारी दिने व्यक्तिलाई अमेरिकी सरकारले ५० लाख अमेरिकी डलर पुरस्कार दिने समेत घोषणा गरेको थियो । उनलाई लक्ष्य गरेर केही दिनयतादेखि नै अमेरिकी सेनाले आक्रमणलाई सशक्त बनाएको थियो । उनलाई पाकिस्तानी सहर उत्तरी वजिरिस्ताको मुख्य नगर मिरानसाहबाट पाँच किलोमिटर उत्तरमा रहेको डान्डी दर्पाखेल गाउँमा अमेरिकी चालकविहीन विमानले दुई क्षेप्यास्त्र प्रहार गरेर हत्या गरेको बताइएको छ ।

सो आक्रमणबाट अन्य चार व्यक्तिको पनि मृत्यु भएको थियो । सो क्षेत्रमा शनिबार दिनभर नै तनाव रहेको पाइएको छ । आदिवासीहरुले यसको विरुद्ध अमेरिकी विमानमाथि नै आक्रमण थालेका पनि बताइएको छ । तेहरिक ए तालिबान पाकिस्तान नाम रहेको पाकिस्तानी तालिवानको समूहलाई नै उनको निधनले ठूलो क्षति पुग्नसक्ने विश्लेषकहरुले जनाएका छन् ।

प्रत्याक्रमण गर्न सक्ने

मेहसुद युवा र लडाकू रहेका र उनले नै विगतदेखि अफगानिस्तानका तालिवानहरुसँग मिलेर पाकिस्तानमा सो सङ्गठन बनाएका थिए । उनको यो हत्याले पाकिस्तानमा रहेका तालिवानहरुले प्रत्याक्रमण गर्नपनि सक्ने खतरा बढेको पनि बताइएको छ । जसका कारण आज शनिबार नै पाकिस्तानका प्रमुख शहरहरुमा कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।

सरकारले तालिवानसँग शान्तिवार्ताको तयारी गरिरहेको बताइरहेका बेला यो हमला भएको र सङ्गठन प्रमुखको नै हत्या भएको छ । यस विषयमा सरकारले भने केही प्रतिक्रिया दिएको छैन ।

अमेरिकी युद्ध विमान पाकिस्तानी आकाशमा

यसैबीच पाकिस्तानको द्वन्द्वग्रस्त आदिवासी बसोबास स्थलका वासिन्दाले शनिबार पाकिस्तानमा गरिँदै आएको चालकरहित विमानमा आक्रमण गरेको स्थानीय वासिन्दा तथा अधिकारीहरूले बताएका छन् ।

यसका कारण आगामी केही दिनसम्म नै यस्तो अशान्ति मच्चिन सक्ने र तालिवान प्रमुख मारिएकै क्षेत्रमा अमेरिकी चालकविहीन विमान उडिरहेको अवस्थामा दर्जनौँ आदिवासी तथा लडाकूहरूले आक्रमण गरेको स्थानीय वासिन्दाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us