पाकिस्तानमा तालिवान प्रमुख मारिएपछि आदिवासीले गरे अमेरिकी चालकविहीन विमानमा आक्रमण

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते ७:४७ मा प्रकाशित

मिरानसाह, १६ कात्तिक–एक दिन अगाडि पाकिस्तानी तालिवान कमान्डर हकिमुल्लाह मेहसुदको अमेरिकी चालकविहीन विमानको आक्रमणमा मृत्यु भएपछि पाकिस्तानका समस्याग्रस्त आदिवासी बसोबास स्थलका वासिन्दाले शनिबार यस्ता विमानमा आक्रमण गरेको स्थानीय वासिन्दा तथा अधिकारीहरूले बताएका छन् ।
मेहसुदका विषयमा जानकारी दिने व्यक्तिलाई अमेरिकी सरकारले ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । उत्तरी वजिरिस्ताको मुख्य नगर मिरानसाहबाट पाँच किलोमिटर उत्तरमा रहेको डान्डी दर्पाखेल गाउँमा एक घर परिसरमा एक गाडीमा अमेरिकी चालकविहीन विमानले दुई क्षेप्यास्त्र प्रहार गर्दा अन्य चार व्यक्तिका साथमा मेहसुदको मृत्युभएको थियो ।
मेहसुदको मृत्यु यस लडाकू समूहमाथि ठूलो प्रहारको रूपमा रहेको र यसको विरोधमा प्रत्याक्रमण हुनसक्ने भएकाले प्रस्तावित शान्तिवार्ता हुनसक्ने विषयमा आशङ्का व्यक्त गरिएको छ ।
तालिवान प्रमुख मारिएकै क्षेत्रमा अमेरिकी चालकविहीन विमान उडिरहेको अवस्थामा दर्जनौँ आदिवासी तथा लडाकूहरूले आक्रमण गरेको स्थानीय वासिन्दाले एएफपीलाई बताए ।
उक्त घटनामा ज्यान गुमाएका चार व्यक्तिका साथै मेहसुदको शरीरलाई शुक्रबार अन्त्येष्टि गरिएको अधिकारी तथा स्थानीय वासिन्दले बताए । मर्नेमा मेहसुदका अङ्गरक्षक, चालक, काका तथा एक कमान्डर रहेको बताइएको छ ।
समान्यतया व्यस्त रहने मिरानसाह बजार शनिबार खुला भए पनि ग्राहकहरू नदेखिएको बताइएको छ । स्थानीय वासिन्दाले अकिमुल्लाह मेहसुदको मृत्युले अनिस्चितता देखिएको र तालिवानले यसको बदला लिने डरले सबैजना डराइरहेको बताए ।
अफगान सीमासँग जोडिएको तथा तालिवान तथा अल–कायद लडाकूको प्रमुख केन्द्र मानिएको सात आदिवासी क्षेत्रमध्ये उत्तरी वजिरिस्तान पनि एक हो ।
मेहसुदको मृत्युलाई अमेरिकी गुप्तचर संस्था सीआईएको चालकविहीन विमान कार्यक्रमको सफलताको रूपमा हेरिएको छ । यस्ता विमानको आक्रमणमा सामान्य नागरिकको ज्यान गएको भनी यसको निकै आलोचना गरिन्छ ।
अमेरिकी सेनाले अफगानिस्तानमा तेहरिक–ए–तालिवान पाकिस्तानका अर्का एक वरिष्ठ कमान्डरलाई पक्राउ गरेको छ भने मेहसुदको मृत्यु यस समूहका लागि दोस्रो ठूलो क्षति हो ।
छ वर्षसम्मको रक्तपातपूर्ण विद्रोहमा टीटीपीले पाकिस्तानका हजारौँ सैनिक प्रहरी तथा नागरिकको हत्या गरेको छ र सरकारले यस समूहसँग वार्ता गर्न प्रयास गरिरहेको छ ।
सरकारले तालिवानसँग औपचारिक वार्ता नभए पनि वार्ताको प्रक्रिया आरम्भ भएको जानकारी दिएको एक दिनपछि नै मेहसुदको मृत्युभएको हो । लडाकूहरूले भने आफूहरूले सरकारबाट कुनै पनि सम्पर्क प्राप्त नगरेको बताएका छन् ।
पाकिस्तानको आदिवासी क्षेत्रका विशेषज्ञ तथा फता अनुसन्धान केन्द्रका साइफुल्लाह खान मेहसुदले तालिवान कमान्डरको मत्युले शान्ति प्रक्रियामा वाधा उत्पन्न गराए पनि यो फाइदाजनक हुनसक्ने बताए ।
टीटीपीका संस्थापक नेता बैतुल्लाह मेहसुदको सन् २००९ मा चालकविहीन विमानको आक्रमणमा मृत्युभएपछि मेहसुदले यस संस्थालाई आफ्नो नियन्त्रणमा लिएका हुन् । सन् २०१० मा मेहसुदको पनि मृत्यु भएको हल्ला चलेको थियो ।
अमेरिकाले मेहसुदमाथि आतङ्कवाद तथा सात अमेरिकी नागरिकको डिसेम्बरमा अफगानिस्तानमा रहेको सीआइएको केन्द्रमा आत्घाती आक्रमण गराइ मारेको आरोप लगाएको छ । अमेरिकाले सन् २००४ देखि यस्तो मानवविहीन विमानबाट आक्रमण गरिरहेको छ ।
आदिवासी क्षेत्रमा विदेशी पत्रकार तथा सहयोगी संस्थाहरूको प्रवेश अवरुद्ध भएको अवस्थामा त्यहाँ चालकविहीन विमानको आक्रमणबाट मर्नेको सङ्ख्या यकिन गर्न कठिन छ तर पनि लन्डनमा केन्द्रीय कार्यालय रहेको ब्युरो अफ इन्भेस्टिगेटिभ जर्नालिजमले यसका कारण हालसम्म दुई हजार ५०० देखि तीन हजार ७०० व्यक्तिको मृत्युभएको अनुमान गरेको छ ।
पाकिस्तान सरकारले यस्तो चालकविहीन विमानको आक्रमणको औपचारिक रूपमा भत्र्सना गरेको छ भने गत साता पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग वासिङ्टनमा भएको भेटमा यस्तो कार्य रोक्न आग्रह गरेका थिए ।
पाकिस्तानमा अलोकप्रिय भए पनि अमेरिकाले कानुनविहीन आदवासी क्षेत्रमा लडाकूसँग सङ्घर्ष गर्न यो महत्वपूर्ण हतियार भएको ठानेको छ । यसैका कारण टीटीपीका हकिमुल्लाह तथा बैतुल्लाह मेहसुदका साथमा दोस्रो स्थानको वालियुर रेहमान तथा अल–कायदाका उपप्रमुख अबु याह्या अल–लिबीको पनि मृत्युभएको थियो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us