इजरायलद्वारा सिरियामा आक्रमण

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते ९:५६ मा प्रकाशित

दमासकस, १५ कात्तिक– इजरायलले हेजबोल्लाह समूहलाई हतियार प्राप्त गर्न नदिन सिरियाको एक सैनिक केन्द्रमा हवाइ आक्रमण गरेको छ भने सिरियाले हालसम्म घोषणा गरेको रासायनिक हतियारलाई निरीक्षकहरूले आफ्नो नियन्त्रणमा लिएको बताएका छन् ।

साउदी अरेबियाको अल–अरेबिया टेलिभिजनले इजरायलले सिरियाको लाताकिया प्रान्तमा रहेको वायुसैनिक केन्द्रमा आक्रमण गरेको जानकारी दिएको छ । इजरायलले लेबनानको सिया आन्दोलनलाई जमिनबाट जमिनमा प्रहार गरिने क्षेप्यास्त्र पठाउन लागेको भनी उक्त आक्रमण गरेको बताइएको छ ।

एक अमेरिकी अधिकारीले एएफपीलाई इजायली आक्रमणको पुष्टि गरे तर उनले आक्रमणको स्थल तथा लक्ष्यको बारेमा विस्तृत विवरण दिएनन् । इजरायली अधिकारीहरूले भने यस विषयमा टिप्पणी गर्न अस्वीकार गरे । ती अधिकारीले इजरायलले हेजबोल्लाहलाई पठाउन खोजिएको क्षेप्यास्त्रलाई लक्ष्य बनाइने गरिएको जानकारी दिए । हेजबोल्लाह सिरियाली राष्ट्रपति बसार अल–असदका सहयोगी ठानिन्छ ।

अल–अरेबियाले सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले विस्फोट बुधबार लाताकिया नजिक वायुसैनिक केन्द्रमा भएको जानकारी दियो भनी उद्धरण गरेको छ । मे महिनामा पनि इजरायलले सिरियामा हवाइ आक्रमण गरेको थियो र इजरायलका एक वरिष्ठ अधिकारीले हेजबोल्लाहलाई इरानी हतियार पठाउन खोजिएकाले आक्रमण भएको जानकारी दिए ।

बिहीबार रासायनिक हतियार प्रतिबन्ध सङ्गठनले सिरियाको रासायनिक हतियारलाई चलाउन नसकिने गरी सुरक्षामा राखिएको जानकारी दिएको छ । उक्त जानकारी ओपीसीडब्लुका प्रवक्ता क्रिस्चियन कार्टियरबाट प्राप्त भएको हो । यसरी सुरक्षित राखिएको रासायनिक हतियारमा एक हजार टन रासायनिक तत्व तथा २९० टन रासायनिक हतियार रहेको बताइएको छ । ओपीसीडब्लुले सिरियाको रासायनिक हतियार उत्पादन उपकरण नष्ट गरिएको जानकारी दिएको छ ।

ओपीसीडब्लु तथा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदले निरीक्षकहरूलाई रासायनिक हतियार रहेका सबै स्थानमा पुग्न र त्यहाँको सबै उत्पादन उपकरणलाई नष्ट गर्न शुक्रबारसम्मको समय दिएका थिए । यी हतियार सन् २०१४ सम्म नष्ट हुनुपर्छ । सिरियाले अगस्तमा दमासकस नजिकै रासायनिक हतियार प्रयोग गरेपछि सिरियामाथि अमेरिकी आक्रमण हुननदिन अमेरिका तथा रसियाबीच भएको सम्झौता अनुसार सुरक्षा परिषद्ले उक्त निर्णय गरेको हो ।

यसबीच अन्तर्राष्ट्रिय दूत लख्दर ब्राहिमीले दमासकसमा प्रतिपक्षी समूहसँग जेनेभा–२ नामक शान्ति वार्तामा संलग्न हुन मनाउन भेट गर्नुभएको छ । प्रतिपक्षी समूहमा यस विषयमा विभाजन रहेको छ । बुधबार ब्राहिमीले राष्ट्रपति असादसँग भेट गर्नुभएको थियो । सिरियामा ३१ महिना लामो सङ्घर्षमा एक लाख २० हजार नागरिकको मृत्यु भएको बताइएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us