हेलिकोप्टर आक्रमणमा चारको मृत्यु

काठमाण्डु टुडे २०७० असोज १६ गते १३:५४ मा प्रकाशित

टिक्रीट (इराक), १६ असोज–उत्तरी बग्दादाको सलाहुदिन प्रान्तमा सैनिक हेलिकोप्टरमा आतङ्ककारी आक्रमण भएको छ । सो आक्रमणमा चार जना चालकदलका सैनिक अधिकारीहरुको मृत्यु भएको छ । प्रान्तीय प्रहरी स्रोतले उक्त जानकारी बुधबार बिहान सबेरै दिएका छन् । प्रान्तीय राजधानी टिक्रीटदेखि ३० किलोमिटर उत्तरमा पर्ने सुक्कारियाट क्षेत्रमा आतङ्ककारीको बलियो प्रभाव रहेको क्षेत्रमा  सो आक्रमण भएको समाचारमा जनाइएको छ ।
यस आक्रमणको क्रममा सैनिक र आतङ्ककारीबीच भएको दोहोरो भिडन्तमा तीन आतङ्ककारीको पनि मृत्यु भएको जनाइएको छ । सन् २००६ र २००७ मा सिया र सुन्नी मुसलमानबीच भएको द्वन्द्वको कारण दशौा हजार नागरिकको मृत्यु हुने गरेको इराकमा हाल आएर हत्या हिंसामा कमी आएको भनिए पनि हिंसा रोकिएको छैन ।
इराकमा सेप्टेम्बर महिनामा मात्र भएका शङ्खलावद्ध आक्रमणमा ८४० भन्दा बढी व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले प्रकाशन गरेको एक तथ्याङ्कमा जनाइएको छ ।
त्यसैगरी यस वर्षको सुरुदेखि हालसम्म इराकमा भएका बमलगायतका विभिन्न आक्रमणमा छ हजार भन्दाबढी व्यक्तिको मृत्यु भएको र अन्य १४ हजार घाइते भएको संयुक्त राष्ट्र सङ्घले जनाए्को छ । रासस /सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us