विज्ञान र प्रविधिः देशको समृद्धि

काठमाण्डु टुडे २०७० असोज १ गते ८:४० मा प्रकाशित

खिलराज रेग्मी 
Khilraj-Regmiप्रत्येक देशको विकासमा विज्ञान र प्रविधिको प्रयोग तथा विस्तार अत्यावश्यक मानिन्छ । विज्ञानका विविध विषयले उल्लेखनीय विकास गरिसकेको वर्तमान समयमा कुनैपनि देशको आर्थिक विकासका लागि होस् वा सामाजिक परिवर्तनका लागि – विज्ञान तथा प्रविधिलाई सशक्त माध्यम मानिएको छ । सामाजिक रुपान्तरण र भौतिक विकासका लागि विज्ञानको प्रयोग नै किन आवश्यक पर्दछ भन्ने कुराको प्रशस्त उदाहरणहरु रहेका छन् । यस महत्वलाई विकसित राष्ट्रहरुले उच्च प्राथमिकताका साथ आत्मसात गरिरहेका छन् भने नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरुले विज्ञानको क्षेत्रमा विकास गर्नका लागि आफ्ना प्रयासहरु केन्द्रित गरेका छन् । यसै सन्दर्भमा विज्ञान तथा प्रविधिको महत्वलाई उजागर गरी यसको भूमिकालाई आत्मसात गर्दै नेपाल सरकारले वैज्ञानिक तथा प्राविधिक समुदायबाट प्राप्त सुझाव समेतका आधारमा राष्ट्रिय विज्ञान दिवस मनाउने कार्य हुनु हामी सबैका लागि सुखद अवसर हो भन्ने मलाई लाग्दछ ।
आजको विश्व विगतको अवस्थाबाट धेरै रुपान्तरण हुँदै अघि बढिरहेको छ । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत जस्ता विषयहरु आज आधारभूत आवश्यकता बनेको सन्दर्भमा आजभन्दा पाँच, छ दशक अघिसम्म यी विषयहरुमा मानिसको पहुँच सन्तोषजनक थिएन । उच्च शिक्षाको अवसरको अवस्था हेर्ने हो भनेपनि सीमित शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका थिए । केही निश्चित समुदायमा मात्र विविध चुनौती र असुविधाबीच आम जनसमुदायको विज्ञान विषयमा पहुँच थियो । यसैबीच रसायनशास्त्रका तत्कालिन प्राध्यापक अमृतप्रसाद प्रधानको अगुवाईमा स्थापित पब्लिक साईन्स कलेज नेपालकै पहिलो कलेजका रुपमा जनस्तरमा स्थापना हुन पुगेको देखिन्छ । उहाँजस्ता अग्रजहरुको प्रेरणा र ज्ञानबाट दीक्षित भएर नै विज्ञान तथा प्रविधिको उच्च शिक्षामा हामी आजको अवस्थासम्म आउन सफल भएका छौं । आश्विन १ गते स्थापना दिवस रहेको हालको अमृत साइन्स कलेजको स्थापना दिवस एवं प्राचार्य स्व. अमृतप्रसाद प्रधानको स्मृति दिवस समेत रहेको आजको यस अवसरमा उक्त कलेजका संस्थापक स्व. प्राचार्य अमृतप्रसाद र उहाँका सहकर्मीहरुको योगदानको श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु ।
वर्तमान समयमा हामीसँग विज्ञान तथा प्रविधिको क्षेत्रमा अधिक संख्यामा जनशक्ति उत्पादन भएको अवस्था छ । मुख्यतः बहुदलीय व्यवस्था र लोकतन्त्रको पुनस्र्थापना पश्चात् राज्यले अवलम्बन गरेको नीति तथा कार्यक्रमका माध्यमबाट देशभित्र विज्ञान विषयका थुप्रै कलेजहरु स्थापना र सञ्चालन भइआएका छन् । चिकित्साशास्त्र र ईञ्जिनियरिङ्ग विषयमा नेपालमा अन्तराष्ट्रिय स्तरमा नै प्रतिष्ठित अध्ययन संस्थानहरु सञ्चालित छन् भने नेपालमा उत्पादित जनशक्तिहरु विश्वका अन्य उत्कृष्ट विश्वविद्यालय र अनुसन्धान केन्द्रहरुमा अध्ययनरत र कार्यरत रहेको सुखद अवस्था पनि हामीसँग छ । नेपालमा चिकित्सा सेवामा टेस्ट ट्यूब बेबी, अङ्ग प्रत्यारोपण जस्ता सुविधा, जटिल शल्यक्रिया तथा आँखाको उपचार सेवा उपलब्ध भइरहेका छन् । यसका साथै, ईन्जिनियरीङ्ग क्षेत्रको कुरा गर्दा – दुई हजार भन्दा बढी साना जलविद्युत आयोजनाहरुले नेपालका ग्रामीण भूभागमा सेवा प्रदान गरेका छन् भने झोलुङ्गे पुलको निर्माण, मत्स्यपालन, सामुदायिक वन व्यवस्थापन र जैविक विविधता संरक्षणका क्षेत्रमा नेपालमा उत्पादित विशेषज्ञहरु थुप्रै अन्तर्राष्ट्रिय सेवामा कार्यरत रहेका छन् । यी सबै विषयहरु विज्ञान क्षेत्रमा नेपालमा भएका प्रगतिका उदाहरणहरु हुन्, जसलाई आगामी दिनमा निरन्तरता दिँदै अघि बढ्न सक्नुपर्दछ । तसर्थ, यसका लागि यहाँ उपस्थित सबै महानुभावहरुसँग सशक्त रुपमा क्रियाशील रहन विशेष आग्रह गर्दछु । साथै, यस कार्यमा सरकारका तर्फबाट गर्नुपर्ने प्रयासका लागि उपयुक्त सहयोग प्राप्त हुने विश्वास दिलाउन चाहन्छु ।
कुनैपनि देशको विकासका सम्बन्धमा मेरो धारणा के छ भने – प्रविधि र विज्ञानको संयोजनका साथसाथै विकास भन्ने कुरा सामाजिक वातावरणबाट पनि प्रभावित हुने विषय हो । यसकारण कतिपय काम कारबाहीहरु राजनीतिक व्यवस्था, राज्यको सहयोग, जनशक्ति र साधन श्रोतको व्यवस्थापन जस्ता विषयहरुमा प्रत्यक्ष निर्भर गर्दछन् । नेपालको वर्तमान सन्दर्भमा हामीहरु राजनीतिक स्थायित्वका लागि संवेदनशील हुनुपर्ने आवश्यकता रहेको छ भन्ने कुरा मैले सँधै अभिव्यक्त गर्ने गरेको छु र यहाँ पनि यस कुरालाई पुनरावृत्ति गर्न चाहन्छु । अहिले सरकारका सबै प्रयासहरु आगामी मंसिर ४ गतेको संविधानसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न केन्द्रित रहेको छ । तसर्थ, निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्नका लागि सरकार क्रियाशील रहेको अवस्थामा निर्वाचनप्रति सकारात्मक हुँदै रचनात्मक सहभागिता कायम गर्दै क्रियाशील हुन विज्ञान क्षेत्रमा संलग्न सबैसँग म विशेष आग्रह गर्दछु ।
अन्त्यमा, विज्ञान तथा प्रविधि देश विकासका लागि अपरिहार्य क्षेत्र भएकाले यस क्षेत्रको विकासमा अझ सशक्त रुपमा क्रियाशील हुन यस क्षेत्रसँग सम्बन्धित सबैसँग आग्रह गर्दछु । यसै सिलसिलामा विज्ञान र प्रविधिः देशको समृद्धि भन्ने नारासहित आयोजित राष्ट्रिय विज्ञान दिवस २०७० को अवसरमा अयोजित यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।
प्रथम राष्ट्रिय विज्ञान दिवस २०७० का अवसरमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयद्घारा आयोजित समारोहमा व्यक्त लिखित भाषण
आश्विन १, २०७०, काठमाडौं

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us