एमाओवादीबाट काठमाण्डु, गोरखा र चितवन बन्द

काठमाण्डु टुडे २०७० भदौ २१ गते १६:५२ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– कीकृत माओवादीले गोरखा फुजेलका आफ्ना कार्यकर्ता रामप्रसाद अधिकारीलाई हत्या आरोपमा पक्राउ गरेको विरोधमा आज काठमाण्डु उपत्यकासहित चितवन र गोरखा बन्द आह्वान गरेको छ ।
maoist flagबिहान ८ बजेबाट गरिएको बन्दका कारण ती जिल्लामा यातायात, शिक्षण संस्था, कलकारखाना र बजार–पसल ठप्प छन् ।
बन्दकर्ताले काठमाडौँको रत्नपार्क, बानेश्वेर, पुतलीसडक, बालाजु, कलंकी तथा चितवनको नारायणगढ र गोरखाको गोरखा बजारमा नारावाजीसहित प्रदर्शन गरिरहेका छन् । अत्यावश्यक सेवाका प्रेस, एम्बुलेन्स, कुटनीतिक नियोग, शव बाहन तथा पिउने पानी र दूध ढुवानीका सवारी सञ्चालनमा रोक नलगाइएको एकीकृत माओवादीले जनाएको छ ।
अधिकारीलाई शुक्रबार साँझ काठमाडौँको बागबजारबाट प्रहरीले पक्रेको थियो ।  डिल्लीबजारमा व्यवसाय गर्दै आएका अधिकारीलाई सशस्त्र द्वन्द्वका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।
एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले द्वन्द्वकालीन मुद्धाको टुंगो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत लगाउनुपर्नेमा आफ्ना कार्यकर्तालाई हत्या आरोपमा पक्राउ गरिनु शान्ति सम्झौताविपरीत भएको बताए । अधिकारीलाई पक्राउ गरिएको सूचना पाएलगत्तै एकीकृत माओवादी नेवा: राज्य समिति, गोरखा र चितवन जिल्ला समितिले आकस्मिक रुपमा बन्द आह्वान गरेका हुन वाइसीएल उपत्यका इन्चार्ज रामप्रसाद सापकोटाले आजको बन्दमा उपत्यकामा मात्र ५ हजार वाइसीएल परिचालन गर्ने जानकारी दिए ।
आफ्ना छोरा हत्यामा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै नन्दप्रसाद अधिकारी दम्पती वीरअस्पतालमा अनसन बस्दै आएका छन् । केही दिनअघि एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटी सशस्त्र द्वन्द्वकालीन घटना आफूहरुको निर्देशनमा भएको र पक्रनु पर्ने भए आफूहरुलाई नै पक्रन चुनौती दिएका थिए । यसैबीच कार्यकर्ता पक्राउको विरोधमा माओवादीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा हुने नियमित पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने प्रवक्ता सापकोटाले काठमाण्डु टुडेलाई जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us