नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार छौं: भारतीय गृहमन्त्री

काठमाण्डु टुडे २०७१ असोज ४ गते ७:५६ मा प्रकाशित

काठमाण्डु, ४ असोज– भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन भारत तयार रहेको बताएका छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गृहमन्त्रीहरूको छैटौँ बैठकमा भाग लिन काठमाण्डु आएका उनले स्वदेश फर्कनुअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेपाल सरकारले विकास निर्माण योजना बनाएर भारतसमक्ष प्रस्तुत गरे जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

Singh Press Meet
नेपाल बसाइका क्रममा आफूले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमसहित राजनीतिक दलका नेतासँग बेग्लाबेग्लै भेटवार्ता गरेको र उनीहरुले निर्धारित मितिमै संविधान जारी गरेर नेपाललाई विकासको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

भारतले नेपालमा शान्ति, स्थायित्व र समृद्धि कायम होस् भन्ने चाहेको भन्दै उनले दुवै मुलुक शान्ति, समृद्धि र स्थायित्वका निम्ति परिपूरक भएको उनले बताए ।
प्रधानमन्त्री नरेन्द्र मोदीको गत महिना सम्पन्न नेपाल भ्रमणबाट दुवै मुलुकमा सकारात्मक प्रभाव परेको बताउँदै उनले भारतीय कम्पनी जिएमआर र नेपाल लगानी बोर्डबीच माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्न भएको आयोजना विकास सम्झौताबाट नेपालको आर्थिक विकासमा वैदेशिक लगानीका निम्ति ढोका खुलेको विचार व्यक्त गरे ।

‘माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा दुवै मुलुकबीच सम्झौता हुनु भारत र नेपालका लागि ठूलो उपलब्धि हो, उनले भने, ँविकासका साझेदार हामीले एकअर्काका भावना र चाहनाको कदर गर्दै दुवै देशका जनताको हित प्रवद्र्धनमा अघि बढ्नुपर्छ ।’

सार्क मन्त्रिस्तरीय बैठकमा आफूहरूबीच आतङ्कवाद, आपराधिक गतिविधि नियन्त्रण, जाली नोटको कारोबार, मानव तस्करी, लागुऔषध ओसारपसारलगायत सार्क क्षेत्रबाट अपराधलाई निमिट्यान्न पार्न एकताबद्ध भई अघि बढ्ने सहमति भएको जानकारी भारतीय गृहमन्त्रीले दिए ।
एक प्रश्नको जवाफमा उनले धर्म निरपेक्ष नेपाल नेपाली जनताको निर्णयमा निर्भर रहने र त्यसमा टिप्पणी गर्न जरुरी नभएको स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us