काठमाण्डु, ३ असोज – सार्कको छैठौँ गृहमन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ।
बैठकमा आतंकवाद नियन्त्रण, लागूऔषध कारोबार नियन्त्रण, संगठित अपराध नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, साइबर क्राइम नियन्त्रण लगायतमा साझा प्रतिबद्धता व्यक्त गरेका छन्। ‘यि विषय सबै सार्क राष्ट्रका साझा समस्या हुन्’, बैठकपछि नेपालक गृहमन्त्री बामदेव गौतमले भने, ‘यस्ता समस्या समाधानका लागि साझा प्रतिबद्धता गरेका छौँ।’
गृहमन्त्री गौतमले साझा समस्या समाधानका लागि घरेलु कानुन प्रभावकारी बनाउने र कानुन कार्यान्वयनका लागि सुरक्षा निकायलाई सक्रिय बनाउने निर्णय गरेको जानकारी दिए।
मन्त्रीस्तरीय बैठकअघि गृहसचिव र सार्क मुलुकका अध्यागमन अधिकारीहरुको छुट्टाछुट्टै बैठक भएका थिए।
काठमाण्डु बौद्धस्थित ह्यात रिजेन्सी होटलमा पाकिस्तान बाहेकका सार्क मुलुकका गृहमन्त्री सहभागी थिए। पाकिस्तानका गृहमन्त्री चौधरी निसार अलि खान भने पाकिस्तानको बाढीपहिरोको बिपत्तीका कारण बैठकमा सहभागी नभएको जनाइएको छ।
नेपालका गृहमन्त्री बामदेव गौतम, भारतीय गृहमन्त्री राजनाथ सिंहसहित बंगलादेश, माल्दिभ्स, श्रीलंका, अफगानिस्तान र भुटानका गृहमन्त्री बैठकमा सहभागी थिए।
बंगलादेशको ढाकामा सन् २००५ मा सम्पन्न १३ औँ सार्क शिखर सम्मेलनले हरेक वर्ष सार्क राष्ट्रका गृहमन्त्री र गृहसचिवको बैठक गर्ने निर्णय गरेको थियो।