प्रधानमन्त्री आज अमेरिका जाँदै

काठमाण्डु टुडे २०७१ असोज ३ गते ३:४३ मा प्रकाशित

काठमाण्डु, ३ असोज– प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन आज अमेरिका जाँदैछन् ।
Sushil-Koiralaप्रधानमन्त्री कोइराला २१ सदस्यीय टोलीको नेतृत्व गर्दै आज न्यूयोर्क प्रस्थान गर्न लागेका हुन् । न्यूयोर्क पुग्नुअघि प्रधानमन्त्री कोइरालाले संयुक्त अरब इमिरेट्स अबुधावीमा भोलि
मध्यपूर्व, पश्चिम एसिया र उत्तर अफ्रिकामा राजदूतहरुको भेला गरी त्यहाँका समस्या बुझ्ने र समाधानका लागि निर्देशन दिने कार्यक्रम छ । प्रधानमन्त्री कोइराला आइतबार न्यूयोर्क पुग्ने छन् । उनले सोमबार स्वास्थ्य परीक्षण गराउने छन् । गत असारमा अमेरिकामै फोक्सोको क्यान्सरको उपचार गराएका कोइरालाले फलोअप उपचार गराउन लागेका हुन् ।
कोइरालाले ७ असोजमा राष्ट्रसंघको जलवायु सम्मेलनमा सहभागी भएर मन्तव्य दिनेछन् । उनले १० असोजमा राष्ट्रसंघीय माहासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । महासभाका दौरान कोइराला अमेरिकी राष्ट्रपति बाराक ओवामाले दिने रात्रिभोजमा सामेल हुनेछन् । ११ असोजमा उनले राष्टसंघीय महासचिव वान कि मुनसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले दक्षिण एसियाका राष्ट्र एवं सरकार प्रमुखहरुसंग पनि साइडलाइनमा भेट्ने कार्यक्रम छ ।
कोइराला १२ असोजमा स्वदेश फर्कने छन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा  परराष्टमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराई, परराष्ट्रका कामुसचिव शंकरदाश बैरागी, राष्ट्रसंघ महाशाखा प्रमुख दिपक धिताल, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल, प्रधानमन्त्रीका स्वकीय सचिव वसन्त गौतम, प्रधानमन्त्रीकी जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, चिकित्सक र सुरक्षार्की लगायत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us