एमाओवादी उपाध्यक्ष बोगटीको निधन

काठमाण्डु टुडे २०७१ भदौ ३० गते २:२५ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको उपचारका क्रममा निधन भएको छ ।
posta bahadur bogatiहृदयघात र मस्तिस्कघात एकैपटक भएका बोगटीको उपचारका क्रममा नर्भिक अस्पतालमा आज बिहान ७ बजेर २५ मिनेटमा निधन भएको हो ।

एमाओवादी पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङले बोगटीको निधन भएको पुष्टि गरे । ६२ वर्षीय बोगटीलाई बिहीबार राति आफ्नै घरमा बसिरहेका बेला एकैपटक हृदयघात र मष्तिस्कघात भएको थियो ।
लगत्तै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा सर्जरी गरी रक्तसञ्चालन सुचारु गराइए पनि होस नआएपछि सिटिस्क्यान गर्दा मष्तिस्कघात भएको पाइएको थियो ।
उनको मष्तिस्कमा रगत जमेका कारण शरीरको दाहिने भाग पुरै नचल्ने अवस्थामा थियो ।
यसैबीच बोगटीको निधन भएपछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेता कार्यकर्ता नर्भिक अस्पताल पुगेका छन् ।

बोगटीको जन्म नुवाकोटको तुप्चे गाविस–२ भित्रिनिटारमा बुबा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट २०१० सालमा भएको थियो । सरल, मिलनसार र मृदुभाषी बोगटीे सानैदेखि सामाजिक कार्यमा संलग्न थिए । बोगटीका श्रीमती र २ छोरी छन् । बोगटीका एक मात्र छोरा रविको २०५८ सालमा धादिङको सत्यदेविमा तत्कालिन शाही नेपाली सेनाले हत्या गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us