एमसीसीमा व्याख्यात्मक टिप्पणी नभएको भए जस्ताको तस्तै पारित हुने खतरा थियोः प्रचण्ड

काठमाण्डु टुडे २०८२ साउन २१ गते १४:४२ मा प्रकाशित

काठमाण्डू, २१ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि व्याख्यात्मक टिप्पणीसहित पारित गर्न तयार बनेको बताएका छन । साथै, आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको तर्क समेत गरेका छन ।

आज (बुधबार) लिलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचन कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले भने, ‘नेकपा कालमा मैले नै नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको थियो, ‘कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको थियो ।’

उनले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको पनि बताए । नेकपाको तत्कालीन स्थायी समिति बैठकको प्रसंग उल्लेख गर्दै भने, ‘बाहिर प्रचारमा आइसकेको थियो कि नेपाल आईपीएसमा सहभागी भएको छ । तत्कालीन परराष्ट्रमन्त्रीले अस्वीकार गरे पनि पछि अमेरिकाले नै नेपाललाई सहभागी राष्ट्र घोषणा गरेपछि मन्त्रीले पार्टी र जनतालाई ढाँटेको स्पष्ट भयो ।’

अध्यक्ष प्रचण्डका अनुसार, तत्कालीन अवस्थामा नेपाली कांग्रेस एमसीसीलाई जस्ताको तस्तै पारित गर्न जोडदार लागिपरेको थियो । ‘हामीले त्यसरी जस्ताको तस्तै पारित गर्न नहुने भन्दै, यदि एमाले तयार हुने हो भने नेतृत्व दिन पनि तयार थियौं,’ उनले भने ।

तर, एमाले र कांग्रेस दुवैको अडान देखेपछि संशोधन सम्भव नहुने निष्कर्षमा पुगेको भन्दै प्रचण्डले भने, ‘हामीले व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्यौं । संसदबाट अनुमोदन नभएको अवस्थामा त्यो जस्ताको तस्तै पारित हुने खतरा थियो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us