सप्तरीमा प्रहरीले गोली चलायो, एकको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन २१ गते ७:४० मा प्रकाशित

सप्तरी, २१ साउन– सप्तरीमा प्रहरीले तस्कर समूहमाथि गोली चलाएको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्र राजगढप गाउँपालिका–२ कमलपुरमा गएराति करिब साढे १० बजेतिर प्रहरीले गोली चलाएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार तस्कर समूहले प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रतिकारमा गोली चलाइएको हो ।

रिसालका अनुसार गोली लागी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगढ–२ का ३५ वर्षीय लालु यादव छन् ।‍ तीघ्रामा गोली लागेका उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तस्करीको मदिरा लुकाएर राखिएको गोप्य सूचनाका आधारमा छापा मार्न गएको प्रहरीमाथि तस्कर र स्थानीयले प्रतिकार गरेका थिए ।

लाठी र घरेलु हतियारसहित तस्कर समूहले घेरेकाले प्रहरीले आत्मसुरक्षाका लागि गोली चलाएको सप्तरी प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट ठूलो मात्रामा मदिरा बरामद गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us