काठमाण्डू, २० साउन– आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा लाई फेरी प्रहरीले पोखराबाट पक्राउ परेकी छन् । साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पोखराको लेकसाइडबाट मंगलबार पक्राउ गरिएको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोले गत २६ साउनमा विद्युतीय कारोबारविरुद्धको कसुर (साइबर अपराध) मा जिल्ला अदालत काठमाण्डूबाट पक्राउ पुर्जी अनुमति लिएको थियो ।
त्यसैका आधारमा वाइबा पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिएका छन । ‘साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी थियो, त्यसकै आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो,’ ओलियाले भने, ‘अब वाइबालाई थप कारबाहीका लागि काठमाण्डू पठाउँछौं ।’
उनकै सहकर्मीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । वाइबा यसअघि २०८० चैतमा पनि साइबर अपराध मुद्दा तथा कुटपिट गरेको अभियोगमा पक्राउ परेकी थिइन् ।