कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाण्डु टुडे २०८२ साउन २० गते १५:२६ मा प्रकाशित

काठमाण्डू, २० साउन– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा कुलिङ पिरियड छानबिन समितिले प्रतिवेदन पेस गरेको छ । संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदनसभामा पेस गरेका हुन् ।

गत असार २३ गते समिति गठन भएको थियो । सात सदस्यीय समितिका सभापतिमा परियार थिए । प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्दै सभापति परियारले चार वटा कार्यदेश दिइएको बताए । जसमा २ वर्ष कुलिङ पिरियड राख्ने राजनीतिक सहमति अनुसारको विधेयकको दफा ८२ को उपदफा ४ र ५ मा तादम्यता कायम नरहनुको कारण खोज्न भनिएको थियो ।

त्यस्तो तादम्यता नमिल्नुमा कसको कस्तो भूमिका रहेको छ भन्ने छानबिन गर्न र विधेयकको प्रतिवेदनमा संलग्नता देखिए त्यस्तोमा कारबाही गर्नुपर्ने भए के गर्ने सिफारिस गर्न भनिएको थियो । भविष्यमा कमजोरी हुन नदिन के गर्ने भनेर चौथो कार्यदेश दिइएको थियो । सुरुमा २१ दिनको समय दिइएको थियो । समितिले समय अपुग रहेको बताएपछि सात दिन समय थपिएको थियो ।

त्यसअनुसार असार १८ गते नै म्याद सकिएता पनि निरन्तरतामा बैठक राखेर आज पास गरेर सभामा प्रतिवेदन पेस गरेको हो । यसबीचमा समितिमा ३७ वटा बैठक बसेको सभापति परियारले जानकारी दिए । सरोकारवाला, राजनीतिक दलका प्रतिनिधिहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरू लगायतसँग सोधपुछ गरिएको स्मरण गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us