काठमाण्डू, २० साउन– गुल्मीको डहरे खोलाले कार बगाएको छ । अविरल वर्षासँगै आएको भेलले डहरे खोलाले कार बगाएको हो । सत्यवती गाउँपालिका वडानम्बर–६ उर्लीखोला स्थित डहरेखोलामा शान्तिपुरबाट बुटवल तर्फ जाँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
मंगलबार बिहान ११ः४५ बजेको समयमा डहरे खोलाले बगाएर कार ५० मिटर तल पुर्याएको थियो । स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
खोलाले बगाउँदा कारमा क्षति पुगे पनि मानविय क्षति भने नभएको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । पक्की पुलको अभावले यस क्षेत्रका नागरिकले वषौंदेखि सास्ती खेप्दै आएका छन् ।
आइतबारदेखि गुल्मी लगायतका ठाउँमा निरन्तर वर्षा भइरहेको छ । वर्षातले डहरे खोलामा पानीको बहाव बढेकोले सडक अवरुद्ध हुँदै आएको थियो ।
डहरे खोला हुँदै वामिटक्सार र छिमेकी जिल्ला बाग्लुङबाट बुटवल छुटने सावरीसाधनहरू वर्षातको समयमा खोला बढ्दा बाटोमै घण्टौं कुरेर यात्रा गर्नुपर्ने बाध्यता छ ।