काठमाण्डू, २० साउन– संघीय निजामती सेवा विधेयको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन आज (मंगलबार) प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई बुझाइँदैछ ।
लामो छलफलपछि आज बिहान पारित भएको प्रतिवेदन समितिले सभामुख घिमिरेलाई बुझाउन लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ ।
लामो छलफलपछि समितिमा सहमति जुटेपछि प्रतिवेदन पास भएको छ । आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो ।
रातभरको छलफलपश्चात आज बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको थियो । यो प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडलाई मुख्य जिम्मेवार बनाइएको छ ।