मध्यरातमा एमाले सांसद्ले रास्वपाका सांसद् हप्काए, माधव सापकोटाले प्रतिवाद गरे

काठमाण्डु टुडे २०८२ साउन २० गते ११:३३ मा प्रकाशित

काठमाण्डू, २० साउन– संघीय निजामती सेवा विधेयकबाट ‘कुलिङ अफ पिरियड’को व्यवस्था निस्क्रिय बनाउन भएको चलखेल छानविन गर्न गठित संसदीय विशेष समितिमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदबीच बाझाबाझ भएको छ ।

समिति सदस्य रास्वपा सांसद् गणेश पराजुलीले विधेयकमा चलखेल गर्ने मुख्यसचिव एकनारायण अर्याल, संसदका महासचिव पदमप्रसाद पाण्डेयलगायतको नाम उल्लेख गरी कारबाही सिफारिस गर्नुपर्ने अडान लिए ।

पराजुलीमाथि एमालेका तर्फबाट सदस्य रहेका नारायणप्रसाद आचार्य जाइलागे । आचार्यले समितिले न्यायाधीशको भूमिका खेल्न नहुने भन्दै नाम तोक्न नहुने बताए । ‘हामी सांसद् हौं, न्यायाधीश होइनौ’, पराजुलीलाई हेप्दै उनले भने, ‘हुन त तपाईं नयाँहरुलाई संसद् र अदालतको के भूमिका हुन्छ भन्ने थाहा छैन । जान्दै हुनुहुन्छ ।’

आचार्यले पराजुलीलाई नजान्ने भन्दै हप्काएपछि माओवादी सांसद माधव सापकोटा प्रतिवादमा उत्रिए । सापकोटाले सत्ता पक्षको संख्याको आडमा सांदलाई नहेप्न चेतावनी दिए । समितिमा सत्ता पक्षको बहुमत रहेको भन्दै उनले बहुमतले चाहेअनुसार निर्णय लिन आग्रह गरे । त्यसपछि आफूहरुले ‘नोट अफ डिसेन्ट’ वा फरक प्रतिवेदन तयार पार्ने बताए ।

‘हामी सबै जनताबाट निर्वाचित भएर आएका सांसद् हौं । नयाँ–पूरानो वा संख्यामा सानो–ठूलोको आधारमा कुरा गर्ने हो भने तपाईंहरु बहुमतले निर्णय गर्नुस्, त्यसपछि हामी के गर्नुपर्छ गरौंला ।’

सापकोटा कड्किएपछि आचार्य चुप लागे । यो विवाद गएराति १२ बजेको हो । समिति सभापतिसमेत रहेका काँग्रेस सांसद जिवन परियारले सर्वसम्मतिमा मात्र प्रतिवेदनलाई अन्तिम रुप दिइने बताएपछि प्रतिपक्षी सांसद् नरम भए ।

समितिले मंगलबार बिहान मात्र प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । यसअघि सोमबार दिनभर पनि बैठक बसेको थियो । प्रतिवेदनमा उल्लेख गर्ने भाषामा सत्ता र प्रतिपक्षका सांसदको कुरा नमिल्दा ढिला गरी प्रतिवेदन आएको हो ।

प्रतिवेदनमा विधेयकमा भएको गडबढीबारे राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने तथा मुख्यसचिव एकनारायण अर्याल, संसदका महासचिव पद्मप्रसाद पाण्डेयसहित सचिवहरुको हकमा कानूनअनुसार हुने लेखिएको छ ।

कुलिङ अफ पिरियडको प्रावधान नराख्न संगठित दबाबमा उत्रिएका मुख्यसचिव अर्याल, पाण्डे र सचिवहरुको उक्त व्यवहार पदीय आचरणअनुकूल नरहेको ठहर समितिको छ । कुलिङ पिरियडमा भएको चलखेल छानबिन गर्न प्रतिनिधिसभाले २३ असारमा ७ सदस्यीय विशेष छानबिन समिति गठन गरेको थियो ।
समितिमा काँग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य थिए । समितिको एक साता थप गरिएको अवधि सोमबारै सकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us