०८४ मा केपी ओलीलाई चुनाव हराउँछु, खप्तडमा गएर जोगी भएर बस्छुः दुर्गा प्रसाईं

काठमाण्डु टुडे २०८२ साउन २० गते ९:१९ मा प्रकाशित

काठमाण्डू, २० साउन– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी ०८४ को आमनिर्वाचनमा आफूले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई हराउने दाबी गरेका छ्न् ।

उनले आफू ओलीको निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारीमा रहेको बताए ।

उच्च अदालत पाटनको आदेशमा बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटी जेलमुक्त भएपछि बोल्दै उनले आफूलाई राज्य र राज्य चलाउनेहरुका पाटर्नर ‘तस्कर’ हरुले फसाउन खोजेको आरोप लगाए । प्रसाईंले शरीरमा एक थोपा रगत रहेसम्म भ्रष्ट, दलाल र तस्करहरुसँग लड्ने चेतावनी दिए । उनले आफूलाई भगवान कृष्णसँग तुलना गरे ।

‘दुर्गा प्रसाई भनेको धर्ती फुटाएर जन्मिएको भगवान कृष्णजस्तै हो । मेरो श्री सम्पत्ति सबै सक्न तयार छु तर, भ्रष्ट, दलाल र तस्करहरुलाई कुनै हालतमा छोड्दिन । शरीरमा एक थोमा रगत रहेसम्म यी तस्करहरुसँग लड्छु । म त्यो ऊर्जा, त्यो तागतका साथ फेरि आएको छु’, प्रसाईंले भने ।
उनले ०८४ मा ओलीलाई हराएरु आफूले गणतान्त्रिक व्यवस्था ढाल्ने दाबी गरे । आफू व्यवस्था परिवर्तनपछि राज्यको कुनै जिम्मेवारीमा नरही खप्तडमा गएर साधु बन्ने घोषणा पनि उनले गरे ।

‘०८४ मा यही प्रधानमन्त्री लड्दैछ मसँग । प्रधानमन्त्री हारेका दिन के हुन्छ ? प्रधानमन्त्रीका हारेका दिन व्यवस्था सिद्धिन्त । त्यस पछाडि को आउँछ ?’, आफूतिर देखाउँदै उनले भने, ‘यो अगाडि उभिएको मान्छे आउँछ । यो व्यवस्था परिवर्तन भएपछि साधु भएर खप्तडमा बसेर जिन्दगी बिताउने रहर छ । मलाई प्रधानमन्त्री, मन्त्री र सांसद् हुनु छैन । सांसद्–मन्त्रीको हैसियत के छ ?’

आफू पढेलेखेको मानिस नभएकाले बोल्न नजान्ने उनले बताए । ‘म पढेको मान्छे होइन, राजनीति गर्ने मेरो ‘हबी’ होइन । आवश्यकताले जन्माएको मान्छे हुँ । दुर्गा प्रसाईंलाई नबोल्न भन्छन् । म बोलिन भने प्रहरीले कुटेर दुर्गा प्रसाई डराएछ भन्छन्’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us