कुलिङ पिरियडमा दुई बुँदे बटमलाइन राखेर बाहिरिए विपक्षी

काठमाण्डु टुडे २०८२ साउन १९ गते १६:०२ मा प्रकाशित

काठमाण्डू, १९ साउन– संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले कुलिङ पिरियडमा दुई बुँदे बटमलाइन राखेर विपक्षी दलहरू बैठकबाट बाहिरीएका छन ।

आज (सोमबार) बिहानैदेखि छलफलमा जुटेका समिति सदस्यहरूमध्ये नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका हुन । उनीहरूले दुई बुँदे माग राखेर बैठकबाट बाहिरिएको स्रोतले जानकारी दिएको छ ।

पहिलो, राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने । दोस्रो, मुख्यसचिव सहित उच्च पदस्थ कर्मचारीले पदीय आचरण अनुकुल कार्य नगरेको किटान गर्नुपर्ने । यससँगै आज पनि प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस नहुने भएको छ ।

छलफलमा प्रतिपक्षले राजनीतिक नेतृत्व समेत जोडिएकाले त्यसअनुसार कारबाही सिफारिस हुनुपर्ने अडान राखेको छ । तर, सत्तापक्षले कर्मचारीले गरेको काममा राजनतिक व्यक्तित्वले विश्वास गरेको तर्क गरिरहेका छन् ।

कुलिङ पिरियडको प्रावधान निष्क्रिय हुने भाषा प्रयोग हुनुमा सम्बन्धित व्यक्तिहरू किटान गर्ने र उनीहरूको परिभाषित जिम्मेवारी र परोक्ष भूमिका दुई खण्ड गरेर प्रतिवेदन लेख्ने तयारी थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us