प्रतिनिधि सभाको बैठकः आफ्ना कुरा राखेर संसद् बैठकबाट बाहिरिए राप्रपा र रास्वपा

काठमाण्डु टुडे २०८२ साउन १९ गते १४:१७ मा प्रकाशित

काठमाण्डू, १९ साउन– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि रास्वपा र राप्रपाले संसद्‌मा विरोध गर्दै आएको छ । आजको बैठकमा रास्वपा सांसद असिम साहले भिजिट भिसाको नाममा भएको मानव तस्करको फाइल कहाँ पुग्यो ? भनेर प्रश्न गरे ।

उनले भ्रष्टाचारको अडियो बाहिरिएको र घुस मागेको प्रमाण आउँदा पनि राजीनामा दिएपछि सबै पखालिएको हो ? भन्दै प्रश्न गरे । ‘तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइल बन्द भयो ।

अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्वमन्त्रीलाई किन अदृश्य शक्तिको शक्ति दिइरहेको छ ?’ उनले प्रश्न गरे । राप्रपा सांसद ध्रुबबहादुर प्रधानले भिजिट भिसाको मात्रै समस्या नभइ नियतको भएको बताए ।

‘भिजिट भिसामा त सबै जान्छन् । इमिग्रेशन पनि जोडियो । जब कुनै ठाउँमा कमिकमजोरी देखियो । ३० लाख जनताको प्रतिनिधित्व गर्ने व्यक्तिबाट विरोध आयो अनि राप्रपा र रास्वपा भनेर व्यवस्था विरोधी र संविधान विरोधी भन्ने कुरा कार्यकारी प्रमुखबाट आउन खेदजनक छ,’ उनले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us