काठमाण्डू, १८ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले पदबाट राजीनामा दिएका छन् ।
पार्टी संसदीय दलमा अल्पमतमा परेका लामालाई राजीनामा दिन सभापति शेरबहादुर देउवाले निर्देशन दिएका थिए । लामाले आइतबार पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा लामाले संवैधानिक हिसाबले आफूमाथि कुनै चुनौती आउने अवस्था नहुँदा नहुँदै पनि पार्टी सभापति देउवाको आग्रह, राजीतिक विधि, पद्धति र मान्यताका लागि आफूले राजीनामा दिएको दाबी गरे ।
उनले आफ्नो कार्यकालमा भएका कामबारे समेत पत्रकार सम्मेलनमा ब्रिफिङ गरे । ८ साउन ०८१ मुख्यमन्त्रीमा नियुक्त भएका लामा एक वर्ष १० दिन पदमा बहाल रहेका थिए ।
लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएपछि केही दिनअघि निर्वाचन भएको थियो । लामालाई मकवानपुरका काँग्रेस नेता इन्द्रबहादुर बानियाँले दलको नेताको निर्वाचनमा पराजित गरेका थिए ।
यसअघि बानियाँलाई पराजित गर्दै लामा काँग्रेस संसदीय दल नेता चुनिएका थिए । योसँगै अब बानियाँलाई मुख्मयन्त्री बन्ने ढोका खुलेको छ ।