काठमाण्डू, १८ साउन– प्रधानमन्त्री केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह असली राजा नभएको बताएका छन् ।
आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहमा उनले शाहलाई कुसको राजाको रूपमा स्थापना गरेको बताए ।
‘दरबार हत्यकाण्ड भनेको सानो कुरा हो ? त्यसपछि एउटा कुशको राजा स्थापना गरेको भन्छु मैले । त्यो असली राजा नै होइन,’ उनले भने, ‘राजा मारियो, रानी मारिए, युवराज मारिए । यता उता नभएको भाइ चाहीँ खोजेर ल्याएर बनाएको छ । दरबार हत्याकाण्डको परिकल्पना गरेको छ । अनि त्यस बाटोबाट आएको राजाले जनताको अधिकार खोस्छ ।’
शाहले कांग्रेस सभापति शेरबहादुर देउवामाथि मुद्दा चलाउन खोजेको पनि उनले बताए ।
‘एउटा कठपुतली आयोग बनाएर अख्तियार बाँकी छोडेर, शेरबहादुर देउवामाथि मुद्दा चलाउँदै थियो । अख्तियारले चलाएर नहुने, यो सबै २००७ सालमा राजा फर्काएको परिणाम हो,’ उनले भने, ‘दिल्ली गइसकेका थिए, उतै बस्न दिएको भए भइहाल्थ्यो नि । राजा फर्काउँदैनौँ, अरु कुरामा सम्झौता गर्छौं भनेको भए पनि हुन्थ्यो होला ।’
-न्युज एजेन्सी नेपाल