काठमाण्डू, १८ साउन– संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको म्याद आजबाट सकिँदैछ । विधेयकमा रहेको कुलिङ पिरियडको प्रावधान निष्कृय हुने भाषा समेत प्रयोग भएको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन विशेष समिति बनाएको थियो ।
उक्त समितिका सदस्यहरू आज बिहानैबाट छलफलमा जुटेका छन् । बिहान साढे ७ बजेबाट छलफलमा जुटेका सदस्यहरू दिउँसो करिब १२ बजेसम्म निरन्तर छलफल गरेका थिए ।
त्यसपछि खाना खानका लागि भन्दै समितिका सदस्यहरूले छलफल केहि समयका लागि रोकेका थिए । उनीहरू करिब दुई घण्टापछि पुनस् छलफलका लागि सिंहदरबारस्थित राज्य, व्यवस्था तथा सुशासन समितिको बैठक हलमा जम्मा भएका छन् ।
यो बीचमा सत्तापक्षका सांसदहरू सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बसेर छलफल गरेको स्रोतले जानकारी दिएको छ । सत्तापक्षका सांसदहरू डेढ घण्टासम्म पनि बैठकमा नआएपछि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरू कुरेर बसेका थिए ।
स्रोतका अनुसार, प्रतिवेदनमा कस्ता विषय समावेश गराउने र कस्तो बनाउने भन्नेबारे उनीहरू छलफलमा जुटेका थिए । गत २३ असारमा गठित समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो । पछि एक साता थपिएको थियो ।
थपिएको म्याद आज सकिँदैछ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् ।