प्रचण्डसँग जनार्दनले मागे ३१ लाख जनमतको हिसाब

काठमाण्डु टुडे २०८२ साउन १८ गते १५:३३ मा प्रकाशित

काठमाण्डू, १८ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक जारी छ । जारी स्थायी कमिटीको बैठकमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर असहमति राख्दै आफ्ना धारणाहरू सार्वजनिक गरेका छन् ।

बैठकमा आइतबार आफ्ना धारणा राख्दै शर्माले अध्यक्ष प्रचण्डकै कारण २०६४ सालमा प्राप्त गरेको जनमत गुमेको आरोप लगाएका छन । उपमहासचिव शर्माले स्थायी कमिटीको बैठकमा बोल्दै भने, ‘वर्गप्रतिको प्रतिबद्धतामा अध्यक्षज्यूको विचलन आएको छ, संघीयताको स्वामित्व लिन सकिएको छैन, पहिचानको मुद्दा छोडिएको छ, ‘यी सबै कारणबाट हामीले ३१ लाखको जनमत गुमाएका छौं, त्यो फिर्ता गर्न सक्छौं कि सक्दैनौं ?’

०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी बनेको थियो । त्यसयता माओवादीको जनमत निरन्तर ओरालो लागिरहेको छ । जनमत घट्दै जानुको जिम्मा स्वयं प्रचण्डले पनि लिनुपर्ने शर्माले बताउँदै आएका छन् । बैठकमा उपमहासचिव शर्माले वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकता, विधि र संगठनात्मक प्रणालीमा संकट लगायतका कारणले पार्टीमा समस्या उत्पन्न भएको तर्क समेत गरेका छन ।

‘स्वचालित संगठन नहुनु, विधि सम्मत परिचालन नहुनु। समस्या समाधानका लागि पार्टीको पुनर्संरचना नयाँ सविधान र परिस्थिति अनुसार नगरी केन्द्रिकृत मानसिकतामा रुमल्लिनु नै आजको पार्टीको समस्या हो,’ शर्माले भनेका छन्, ‘यी समस्याको समाधान गर्न विचारको बहस, राजनीतिक लाइनको स्पष्टता, विधि पद्दतिसहितको स्थायी संरचना, स्वचालित कमिटीहरु, आर्थिक उत्पादन र आत्मनिर्भरलाई आत्मसात गर्नुपर्छ ।

जनसंगठनहरु समेत तयार गर्न, पार्टीभित्र प्रतिस्पर्धा र जनउत्तरदायीत्वलाई आत्मसाथ गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो ।’ नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्माले देश र जनताका लागि आफू आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न पनि तयार रहेको समेत बताए ।

तर त्यसका लागि अध्यक्ष प्रचण्ड पनि तयार हुनुपर्ने धारणा उनले राखे । शुक्रबारदेखि सुरू भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा शनिबारसम्म बोल्ने अधिकांश नेताहरूले शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us