माओवादी केन्द्रको स्थायी समिति बैठकः प्रचण्डको एजेन्डामाथि धारणा राख्दै नेताहरु

काठमाण्डु टुडे २०८२ साउन १८ गते १४:२३ मा प्रकाशित

काठमाण्डू, १८ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज तेश्रो दिन पनि केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ ।

१६ साउन देखि सुरु भएको माओवादी स्थायी समितिको बैठकमा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको एजेन्डामाथि नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ ।

शनिबार बसेको बैठकमा पदाधिकारी, अनुशासन आयोग र स्थायी समिति सदस्य गरी २५ जनाले धारणा राखेका थिए । आज बाँकी पदाधिकारीहरूले धारणा राख्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन ।

बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गरेका थिए । एजेन्डाका रूपमा मध्य पहाडी केन्द्रित अभियानलाई निरन्तरता दिने, केन्द्रीय समितिको बैठकबारे मिति तय गर्ने, समाजवादी मोर्चालाई थप विस्तार गर्ने, सङ्गठन निर्माण, कार्यविभाजन र आन्तरिक एकतालाई सुदृढीकरण गर्ने, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप, संसदमा विचाराधीन विधेयक, जनजीविका लगायत समसामयिक प्रस्ताव तयारसम्बन्धी एजेन्डा उनले पेस गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us