काठमाण्डू, १८ साउन– कांग्रेस नेता डा. चन्द्र भण्डारीले अहिले मन्त्री बन्ने रहर नरहेको तर ०८४ पछि देशको नेतृत्व गर्ने इच्छा व्यक्त गरेका छन । हिजो (शनिबार) युथ भिजन नेटवर्कको आयोजनामा कुपन्डोलस्थित वेस्टमिनिस्टर कलेजमा आयोजना गरेको ‘विद्यार्थीसँग जनप्रतिनिधिः विचार विमर्श’ कार्यक्रममा बोल्दै कांग्रेस नेता भण्डारीले यस्तो बताएका हुन ।
प्रतिनिधि सभाका सदस्य समेत रहेका कांग्रेस नेता भण्डारीले विद्यार्थीहरूसँग देशको राजनीति, वर्तमान अवस्था, युवाको भूमिका र आफ्नो दृष्टिकोणबारे खुलेर विचार राखेका थिए ।
‘यति लामो समयदेखि राजनीतिमा हुनुहुन्छ, तर मन्त्री किन बन्नुभएन ? एक विद्यार्थीको प्रश्नको जवाफमा कांग्रेस नेता भण्डारीले भने, ‘अहिले मन्त्री बन्ने रहर छैन, तर ०८४ सालपछि देश नेतृत्व गर्ने चाहना छ ।’
नेता भण्डारीले राजनीतिमा पद वा हैसियतभन्दा पनि दीर्घकालीन राष्ट्र निर्माण र प्रणालीगत परिवर्तनलाई प्राथमिकता दिएको बताए । साथै, उनले देशको वर्तमान अवस्था जटिल र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै युवाहरूलाई सक्रिय, जिम्मेवार र सचेत राजनीतिक भूमिका लिन आह्वान गरे । नेता भण्डारीले परिवर्तनको नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने र चेतनाशील सहभागिता नै राजनीतिक रूपान्तरणको मूल बन्ने तर्क गरे ।