काठमाण्डू, १७ साउन– नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताले उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वविरुद्ध लक्षित अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्नुपर्ने धारणा राखेका छन् ।
शनिबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा केही पदाधिकारीसहित २४ नेताले धारणा राखेका थिए । बैठकमा बोल्ने अधिकांशले पार्टी र नेतृत्वका पक्षमा सकारात्मक माहोल बनिरहेका बेला शर्माले आलोचना गर्नुलाई सन्देशका रुपमा अथ्र्याए ।
दुई साताअघि राजधानीमा आयोजित एक कार्यक्रममा शर्माले मनमोहन अधिकारीपछिका सबै प्रधानमन्त्रीले असुली धन्दा चलाएको अभिव्यक्ति दिएका थिए । अध्यक्ष पुष्पकमल दाहाल पनि मनमोहनपछिका प्रधानमन्त्रीभित्रै पर्ने भन्दै नेताहरुले नेतृत्वमाथि लगाएको संगीन आरोप पुष्टि गर्ने आधार पेश गर्न शर्मालाई चुनौती दिए ।
‘मनमोहन अधिकारीपछिका सबै प्रधानमन्त्रीले असुली धन्दा चलाएका छन् भन्ने अभिव्यक्ति दिनेले कि पुष्टि गर्नुपर्छ कि आरोप फिर्ता लिएर आत्मालोचना गर्नुपर्छ’, एक स्थायी समिति सदस्यले भने, ‘पार्टीको पक्षमा सकारात्मक माहोल बनिरहेका बेला मूल नेतृत्वलाई मुछेर यस्तो आरोप लगाइनु शंकास्पद छ ।’
स्थायी समिति सदस्य हरिबोल गजुरेलले स्वार्थ समूह र बिचौलियाको इशारामा पार्टी नेतृत्वमाथि आधारहीन आरोप लगाउने काम भएको टिप्पणी गरे । नेतृत्वको वरिपरि केन्द्रित भएर पार्टीलाई समाजवादी क्रान्तिको कार्यकारतर्फ अघि बढाउनुपर्नेमा गलत आरोप लगाएर भ्रमित पार्न खोजिएको उनको भनाइ थियो ।
उनका अनुुसार बैठकमा बोल्ने सबै नेताले शर्मालाई आत्मालोचना र आत्मसमीक्षा गर्न सुझाएका छन् ।
नेताहरुले प्रधानमन्त्रीहरु सबै भ्रष्ट भन्ने शर्माले गृह, अर्थ, ऊर्जा र शान्ति तथा पुनर्निमाणजस्ता शक्तिशाली मन्त्रालयको नेतृत्व गरेको भन्दै के उनले पनि असुली नै गरेका थिए ? भन्ने प्रश्नसमेत गरे । गजुरेलले जीवन्त पार्टीभित्र स्वच्छ आलोचना ग्राह्य भए पनि सार्वजनिक रुपमा नभई पार्टी बैठकमा राख्नुपर्नेमा शर्माले त्यो दायरा उल्लंघन गरेको बताए ।
शनिबार बैठकमा वर्षमान पुन, मातृका यादव, देवेन्द्र पौडेल, गंगानारायण श्रेष्ठ, राम कार्की, कुलप्रसाद केसी, ओनसरी घर्ती, जयपुरी घर्ती, कमला रोका, जोखबहादुर महरा, खगराज भट्ट, प्रह्लाद बुढाथोकी, महेश्वर गहतराज, अमृता थापा, अञ्जना विशंखे, शशी श्रेष्ठ, सत्या पहाडीलगायतले बोलेका छन् ।