काठमाण्डु, २८ भदौ– काँग्रेस नेता अर्जुननरसिंह केसीले एमाओवादीले भनेजस्तो उच्चस्तरीय राजनीतिक समिति आवश्यक नरहेको बताएका छन् ।

काँग्रेस धादिङ ज्यामरुङ सम्पर्क समितिको भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै केसीले साधारणसंविधानसभाको समानान्तर हुने गरी उच्चस्तरीय समिति गठन हुन नसक्ने बताए ।
उनले पूर्वनिर्धारित मिति ८ माघमा संविधान जारी नगर्ने नियतका साथ माओवादीले उच्चस्तरीय समितिको कुरा उठाएको आरोप लगाए । ‘संविधानसभाको समानान्तर संस्थाका रुपमा उच्चस्तरीय समिति बन्न सक्दैन’, केसीले भने, ‘संविधान जारी नगर्ने मनसायका साथ एमाओवादीको प्रस्ताव आएको छ ।’
केसीले आफ्नो पार्टी माघ ८ मै संविधान जारी गर्न प्रयासरत रहेको दाबी गरे विवादित विषयको टुंगो सकेसम्म सहमतिमै र नभए प्रक्रियाबाट टुंगो लगाएर तोकिएकै मितिमा संविधान जारी गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।