काठमाण्डू, १६ साउन– सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको तलबभत्ता बढाउने गरी ऐन संशोधन गरेको छ ।
तलब भत्तामा वृद्धि गर्न मन्त्रिपरिषदले मन्त्रीहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन ०४९ माथि केही नेपाल ऐन संशोधन गरेको हो । उक्त ऐनको दफा ३ मा प्रधानमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक सम्बन्धी व्यवस्था छ ।
प्रधानमन्त्रीको पारिश्रमिक माशिक ९ हजार, उपप्रधानमन्त्रीको ७ हजार ५ सय, मन्त्रीको ७ हजार, राज्यमन्त्रीको ६ हजार ७ सय र सहायकमन्त्रीको ५ हजार ८ सय पारिश्रमिक हुने व्यवस्था ऐनमा थियो ।
ऐन संशोधनपछि मन्त्रीहरूको तलबभत्ता राजपत्रमा प्रकाशन गरी तोकेबमोजिम हुने व्यवस्था गरिएको छ ।
यसअघि प्रधानमन्त्रीले २ सय १० रुपैयाँ, उपप्रधानमन्त्रीले १ सय ९५ रुपैयाँ, मन्त्रीले १ सय ९० रुपैयाँ, राज्यमन्त्रीले १ सय ८० र सहायक मन्त्रीले १ सय ४५ रुपैयाँ दैनिक भत्ता व्यवस्था रहेकामा त्यो पनि संशोधन गरिएको छ ।
अब भने मन्त्रिपरिषदले तोके बमोजिम हुनेछ । प्रधानमन्त्री र मन्त्रीहरुले स्वदेश तथा विदेश भ्रमण गर्दा पाउने भ्रमण भत्तामा पनि पुनरावलोकन गर्ने गरी ऐन संशोधन भएको छ ।