काठमाण्डू, १६ साउन– संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् ।
इकोसकको अध्यक्षमा नेपाल निर्वाचित भएको यो पहिलोपटक हो । बिहिबार इकोसकको अध्यक्षता सम्हाल्दै राजदूत थापाले यो नेपालका लागि ऐतिहासिक क्षण भएको प्रतिक्रिया दिएका छन ।
नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको ७० वर्षको अवधिमा मुलुकले बहुपक्षीयताप्रति देखाएको दृढ प्रतिबद्धतालाई यो निर्वाचननले प्रतिविम्बित गरको थापाले जानकारी दिएका छन ।
उनले भने, ‘अहिले संसार द्वन्द्व, जलवायु परिवर्तनले सृजना गरेको अस्तव्यस्तता, आर्थिक अनिश्चितता तथा गहिरिँदो असमानताजस्ता बहुसंकटबाट गुज्रिरहेको छ, ‘पुनः चर्किएको महाशक्तिहरुबीचको प्रतिस्पर्धा, बढ्दो साइबर जोखिमहरु, बाटो बिराएको दिगो विकासको कार्यसूची, बढ्दो मानवीय सहयोगको आवश्यकता र विकासशील देशहरूका लागि वार्षिक ४० खर्ब डलरको वित्तीय स्रोत अभावको अवस्था छ ।’
यस्तो परिस्थितिमा इकोसोकको भूमिका इतिहासमा सबैभन्दा बढी सान्दर्भिक र महत्वपूर्ण रहेको उनले बताए । यसअघि सो पदमा राष्ट्र संघका लागि क्यानडाका स्थायी प्रतिनिधि बब रे थिए ।