रास्वपाले आजदेखि खुला आँगन कार्यक्रम प्रारम्भ गर्दै

काठमाण्डु टुडे २०८२ साउन १६ गते १३:०९ मा प्रकाशित

काठमाण्डू, १६ साउन– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष जनसम्पर्क तथा पार्टी नेतृत्व र नागरिकबिच खुला संवादको संस्कार विकास गर्ने उद्देश्यका साथ आज (शुक्रबार) बाट खुला आँगन कार्यक्रम प्रारम्भ गर्ने भएको छ ।

यस कार्यक्रममा पार्टी सदस्य, शुभेच्छुक, आम नागरिक सहभागी भई राष्ट्र निर्माणसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल, संवाद हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन ।

अपराह्न ४ देखि ६ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा कार्यक्रमको प्रारम्भ हुने बुर्लाकोटीले जानकारी दिए । खुला आँगन कार्यक्रममा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूले पार्टीका सदस्य शुभचिन्तकहरूसँग भेटघाट गर्ने गरी तालिका तय गरिएको छ ।

आजको कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल, पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी, पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य, पार्टी सहप्रवक्ता रमेश प्रसाई लगायतका नेताहरू सहभागी हुने भएका छन ।

पार्टी सदस्य, शुभचिन्तक एवं आम नागरिकहरूलाई आफ्ना विचार, सुझाव र जिज्ञासासहित उपस्थित हुन रास्वपाले आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us