जमिन खाली छ तर युवा काम पाएन भन्दै विदेश जानेक्रम बढ्योः महासचिव पोखरेल

काठमाण्डु टुडे २०८२ साउन १५ गते १२:१६ मा प्रकाशित

काठमाण्डू, १५ साउन– एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भइरहेको बताएका छन ।

आज (बिहिबार) काठमाण्डूमा राष्ट्रिय युवा संघ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्म नलाग्ने र विदेश पलायन हुने क्रम बढिरहेको बताएका हुन ।

उनले भने, ‘नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा एक किसिमको समस्या उत्पन्न हुन थालेको छ, ‘खासगरी पहाडमा जमिनहरू बाँझै रहने र युवाहरू रोजगारीको लागि विदेशिनुपर्ने जुन प्रकारको अवस्था छ, त्यसलाई बदल्ने संकल्प पनि हामीले गर्न सक्नुपर्दछ ।’

महासचिव पोखरेलले युवालाई कृषि कर्ममा लगाउनसके धेरैले स्वदेशमै रोजगारी पाउने बताएका छन । नेपालमा जनसंख्याको ठूलो हिस्सालाई रोजगारी प्रदान गर्नसक्ने क्षेत्र कृषि नै रहेको भन्दै यसले नेपालको ७० प्रतिशत जनतालाई कृषि कर्ममा जोड्नसक्ने बताएका छन ।

उनले भने, ‘हाम्रो समाजमा कृषि निर्वाहमुखी रहेका कारण नयाँ पुस्ता कृषि कर्मसँग जोडिन सकिरहेका छैनन्, ‘अब हामीले नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्नेकुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्दछ ।’

महासचिव पोखरेलले, कुनैपनि मुलुकलाई समृद्ध बनाउन कृषि महत्वपूर्ण माध्यम रहेको उल्लेख गर्दै भने, ‘कृषिको विकासले नै समृद्धिको आधारशिला निर्माण गर्दछ ।

औद्योगिक, पर्यटन, सामाजिक, सेवा क्षेत्रको विकास ति सबै क्षेत्रको विकासका लागि कृषि क्षेत्रको रुपान्तरण आवश्यक छ ।’ बहुसंख्यक जनंख्या जोडिएको कृषि क्षेत्रलाई रुपान्तरण गर्न नसके नेपालको आर्थिक विकास चुनौतीपूर्ण बन्ने बताएका छन ।

महासचिव पोखरेलले प्रविधिले जतिसुकै फड्को मारे पनि अन्नको उपलब्धता नभएसम्म मानिसको जीवन कष्टकर बन्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us