माओवादी केन्द्रले तय गर्‍यो स्थायी कमिटी बैठकका एजेन्डा

काठमाण्डु टुडे २०८२ साउन १४ गते १७:२५ मा प्रकाशित

काठमाण्डू, १४ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ । आज बुधबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकले साउन १६ गते शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको पार्टी उपाध्यक्ष समेत रहेका माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनले भने, ‘ठूलो कमिटीको बैठक बस्नुअघि एजेन्डा तय गरिन्छ । सबैभन्दा पहिला पर्सि बस्ने स्थायी कमिटीको बैठकमा पार्टी हेडक्वार्टरको तर्फबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ ।’ त्यस्तै, पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्तरता दिने बिषय, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका बिषय लगाएतमा छलफल गर्ने एजेन्डा तय भएको उनले जानकारी दिएका छन ।

उनले भने, ‘त्यसपछि अभियान पोखरामा आएर रोकिएको छ । त्यसलाई निरन्तरता दिनेबारे छलफल हुनेछ । त्यससँगै केन्द्रीय कमिटी बैठकको मिति तय हुनेछ ।’ संगठन निर्माण, नेताहरुको कार्यविभाजन र अहिलको वर्तमान अवस्थाका साथै समसामयीक प्रस्ताव पारित गरिने सापकोटाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us