काठमाण्डूमा नक्कली सुन देखाएर लुटपाट, ३ जना पक्राउ

काठमाण्डु टुडे २०८२ साउन १४ गते १३:२३ मा प्रकाशित

काठमाण्डू, १४ साउन– प्रहरीले काठमाण्डूबाट नक्कली सुन देखाउँदै लुटपाटको धन्दा चलाएको र लुटिएको सुन खरिद गरेको आरोपमा तीन जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुली दुधौली नगरपालिका–१० कोक्टी घर भएका ४७ वर्षीय बिमल तामाङ र काठमाडौं बूढानीलकण्ठ नगरपालिका बालुवाखानी बस्ने सिन्धुली दुधौली नगरपालिका–१२ घर भएका ३९ वर्षीय लालबहादुर घिसिङ रहेको प्रहरीले जानकारी दिएको छ ।

साथै यसरी लुटिएका सुनका गरगहनाहरू खरिद गरेको आरोपमा पनि एक जना पक्राउ परेका छन् । खोटाङको मझुवागढी नगरपालिका–१४ घर भई भक्तपुर लोकन्थलीमा बस्ने ३९ वर्षीय भक्तबहादुर गदाल विक रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

यो समूहले नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा गर्दै आएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले जानकारी दिएका छन । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने ६ जना पीडितहरूलाई नक्कली सुनलाई सक्कली सुन हो भन्दै लुटपाट गरेको खुलेको छ ।

सक्कली सुन भन्दै नक्कली सुन छाडी पीडितहरूसँग भएको सुनका गरगहनाहरू तथा नगद समेत ठगी गरी फरार भएको प्रहरीले जानकारी दिएको छ । उनीहरूले आफूसँग साउदी रियाल तथा अन्य देशका मुद्राहरू छ भनि बजार मूल्य भन्दा धेरै कम मूल्यमा दिन्छु भनि विभिन्न प्रलोभन देखाई झुक्यानमा पारी पीडितले सटही गर्न भनि लिएर आएको नेपाली रुपैयाँ लुटपाट गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेंलो धातु १७ ग्राम ६ सय मिलिग्राम, ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का ४ थान र ना ५७ प १५१६ नम्बरको स्कुटर समेत बरामद गरीएको र घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us