धूम्रपानविरूद्ध काठमाण्डू महानगरपालिकाको जनचेतना अभियान

काठमाण्डु टुडे २०८२ साउन १४ गते १२:२४ मा प्रकाशित

काठमाण्डू, १४ साउन– काठमाण्डू महानगरपालिकाले नगर प्रहरी परिचालन गरेर धूम्रपानविरुद्ध जनचेतना अभियान सुरु गरेको छ । हालै मात्रै काठमाण्डू महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने नियम लागु गरेको थियो ।

यस अन्तर्गत विभिन्न सार्वजनिक स्थानहरूमा नगर प्रहरी ब्यानर बोकेर सार्वजनिक स्थानमा धूम्रपान नगर्न चेतना फैलाइरहेका छन् । दैनिक रूपमा बिहान ९ बजेदेखि दुई घण्टाका लागि नगर प्रहरीहरू सार्वजनिक स्थानमा प्ले कार्ड बोकेर उभिने छन् ।

सार्वजनिक स्थानमा धूम्रपान गरेमा जरिवाना तिराउने नियम हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष  ०८२-८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै गरिएको हो ।

महानगरभित्रको सार्वजनिक स्थलमा अत्यधिक धूम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था गरिएको छ । नगरसभाबाट पास गरेको आर्थिक ऐन अनुसार प्रत्येक पटक पाँच सय जरिवाना गर्ने निर्णय भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us