काठमाण्डू, १३ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको रानीजमरा र कुलरिया तर्फको १४ हजार ३ सय हेक्टर सिचाइ ४.७१ मेगावाट क्षमताको जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका छन । आज मङ्गलबार एक कार्यक्रमकाबिच प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रमका लागि प्रधानमन्त्री ओली आज कैलाली पुगेका थिए । उनले सबैभन्दा पहिले लम्कीचुहा नगरपालिका–३, चिसापानीस्थित कर्णाली नदीमा रहेको आयोजनाको मुहानको अवलोकन गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री ओलीले जानकी गाउँपालिका–९, कटासेमा निर्मित विद्युत् गृहको उद्घाटन गरे । आर्थिक वर्ष ०६७–६८ देखि निर्माण सुरु भएको यस आयोजनाको पहिलो चरण ०७४–७५ मा र दोस्रो चरण ०८०–८१ मा सम्पन्न भएको हो ।
आयोजना सम्पन्न भएसँगै १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। साथै, उत्पादित ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । अद्यावधिक गुरुयोजना अनुसार, ०८२ मसान्तसम्ममा २९ अर्ब ५९ करोड ७७ लाख रुपियाँ लागत अनुमान गरिएकोमा हालसम्म २० अर्ब ५८ करोड ५६ लाख रुपियाँ बराबरको काम सम्पन्न भइसकेको छ, जसमा ७५ प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजनाले जनाएको छ । आयोजनामा नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख र विश्व बैंकको ९ अर्ब ३५ करोड २३ लाख रुपियाँ लगानी रहेको छ ।
लम्की शाखातर्फ १४.६५ किलोमिटर मूल नहर निर्माण भइसकेको र शाखा तथा उपशाखा नहरहरूको निर्माणपछि थप ६ हजार हेक्टर जमिनमा सिँचाइ पुगी आयोजनाको कुल सिञ्चित क्षेत्र २० हजार तीन सय हेक्टर पुग्नेछ ।
यो आयोजनाले कैलाली जिल्लाको कृषि विकास र ऊर्जा आपूर्तिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यो आयोजना करिब १२० वर्षअघि स्थानीय किसानहरूले सुरु गरेको परम्परागत सिँचाइ प्रणालीलाई आधुनिकीकरण गरी निर्माण गरिएको हो ।