राति खुकुरी लिएर महिलाको घरमा पुगे युवक, एकको हत्या, २ घाइते

काठमाण्डु टुडे २०८२ साउन १३ गते १४:५९ मा प्रकाशित

काठमाण्डू, १३ साउन– धनुषामा खुकुरी प्रहारबाट एक किशोरीको हत्या भएको छ भने दुई जना घाइते भएका छन् । ३५ वर्षीय रामबाबु साहले खुकुरी प्रहार गर्दा जनकपुरधाम उपमहानगरपालिकास्थित सञ्चय कोष नजिकै  १४ वर्षीया अञ्जलि यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ ।

यस्तै मृतककी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते भएकी प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ । घटना राती ११ बजेतिर हो, तर प्रहरीलाई ढिलो सूचना आएको मधेस प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले जानकारी दिएका छन । त्यसलगत्तै प्रहरीको टोली पुग्दा अभियुक्त फरार भइसकेको उनले जानकारी दिएका छन ।

उनले घटनाको अनुसन्धान भइरहेको र धारिलो हतियार खुकुरी प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए । प्रहरीका अनुसार गएराति अभियुक्त खुकुरी बोकेर उनको घरमा पुगेका थिए ।

त्यही बेला उनीहरूबिच विवाद हुँदा साहले खुकुरी प्रहार गर्न थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । साह यसअघि पनि आफ्नो श्रीमतीको हत्या गरेको आरोपमा जेल बसेर रिहा भएको व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us