माओवादीसँग एकतामो पक्षमा छैनौंः एकीकृत समाजवादी

काठमाण्डु टुडे २०८२ साउन १३ गते १४:५३ मा प्रकाशित

काठमाण्डू, १३ साउन– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रबाट पार्टी एकताको प्रस्ताव आएको खुलासा गरेका छन ।

पार्टी प्रवक्ता समेत रहेका ज्वालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पछिल्लो समय उक्त प्रस्ताव आएपछि समाजवादी भने एकताका लागि तयार नरहेको प्रतिक्रिया दिएका छन । ‘माओवादीबाट एकता गरौं भन्ने प्रस्ताव आएको छ ।

तर हामीले ठोस रूपमा छलफल निष्कर्ष गरेका छैनौं,’ ज्वालाले भने, ‘बरु समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुन्छ ।’ उनले समाजवादी अरू पार्टीसँग एकीकरण गर्ने भन्दा पनि आफ्नै पार्टीलाई कसरी बलियो बनाउने भन्नेमै रहेको बताए ।

‘हामीले एमालेसँग मिल्ने माओवादीसँग मिल्ने भनेर छलफल गरेका छैनौं,’ उनले भने, ‘हामीबीच हाम्रो पार्टी बनाउने भनेर नै छलफल हुन्छ । पार्टी अधिवेशन कसरी गर्ने भनेर नै छलफल हुन्छ ।’

पछिल्लोपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताका बारेमा छलफल भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us