काठमाण्डू, १३ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बगमती प्रदेशसभा विघटन गर्ने सक्ने आफूसँग विकल्प रहेको प्रतिक्रिया दिएपछि एमालेले ध्यानाकर्षण गराएको छ ।
मुख्यमन्त्री लामाले एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै प्रदेशसभा विघटन गर्ने आफूसँग विकल्प रहेको र सत्ता साझेदार दल नेकपा एमालेसहितका सत्ता साझेदार दलहरूले पनि सोही अनुसारको सुझाव दिएको बताएपछि सत्ता घटक दल एमालेले आपत्ति व्यक्त गरेको छ ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रदेश सभा विघटन गर्ने जस्तो घातक सुझाव नेकपा एमालेले कहिल्यै नदिएको र नदिने स्पष्ट पारेका छन । त्यस प्रकारको गलत समाचारको कडा प्रतिकारका साथ एमालेले खण्डन गर्ने सचेतक पौडेलले जानकारी दिएका छन ।
उनले भने, ‘एमाले संधै राजनीतिक स्थायित्व र सुशासनका लागि संघर्षरत पार्टी हो । हाम्रो दल सोही उदेश्यका लागि नेपाली कांग्रेससँग मिलेर वर्तमान संयुक्त सरकारमा सामेल भएको हो ।
तसर्थ त्यस प्रकारको गलत र प्रतिगामी सुझाव (एमाले) ले नदिएको व्यहोरा जनसमक्ष जानकारी गराउँदै उक्त कपोलकल्पित र भ्रामक सन्देशको कडा प्रतिवादको साथ खण्डन गर्दछौं ।’ उनले नेपाली कांग्रेससँगको सहकार्य निरन्तर जारी रहने पनि जनाए ।
‘कांग्रेसबाट को मुख्यमन्त्री हुन्छ भन्ने हाम्रो सरोकारको विषय होइन । नेपाली कांग्रेसबाट जो मुख्यमन्त्री हुन्छ हामी तोकिएको समयसम्म सहयोग र समर्थन गर्छौं, उनले भने, ‘तर एमालेले प्रदेशसभा विघटन गर्ने घातक सुझाव कहिल्यै दिन सक्दैन र दिँदैनौं पनि।’