श्रीमतीलाई कुटिरहेका भाइलाई रोक्न खोज्दा दाइको हत्या

काठमाण्डु टुडे २०८२ साउन १२ गते १५:२३ मा प्रकाशित

काठमाण्डू, १३ साउन– सिरहाको गोलबजार नगरपालिका–३ पुरन्डी टोलमा दाजुभाइबिचको विवाद हत्या घटनामा परिणत हुँदा एक जनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत साउन ८ गते राति करिब ८ः ५५ बजे झैझगडा भइरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यहाँ ३५ वर्षीय लेला भनिने मोतीराम सदा गम्भीर घाइते अवस्थामा फेला परेका थिए । उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल लहान पठाइएको थियो ।

तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी अनुसन्धानअनुसार मोतीरामका कान्छा भाइ भुटका भनिने २५ वर्षीय श्यामकुमार सदाले आफ्नै श्रीमती १९ वर्षीया कौसिला देवी सदालाई कुटपिट गरिरहेको बेला मोतीरामले झगडा छुटाउन खोज्दा भाइले धारिलो हतियार प्रहार गरेका थिए। हतियारले छातीमा लागेको कारण मोतीराम गम्भीर घाइते भएका थिए। घटनापछि श्यामकुमार हतियारसहित फरार भएका थिए ।

खोजतलासका क्रममा प्रहरी टोलीले उनलाई औरही गाउँपालिका–३ जमुवा नहरतर्फ भारत भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us