दाजुको हत्या गरी फरार युवक पक्राउ

काठमाण्डु टुडे २०८२ साउन १२ गते १५:०५ मा प्रकाशित

काठमाण्डू, १३ साउन– पारिवारिक विवादका क्रममा दाजुको हत्या गरी फरार एक युवकलाई प्रहरीले भारततर्फ भाग्ने क्रममा सीमावर्ती गाउँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय श्यामकुमार सदा रहेका छन ।

सिराहा जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेका थिए ।

मदिरा सेवन गरेर घर फर्किएका श्यामकुमारले श्रीमती कौशिला सदामाथि कुटपिट गर्न थालेपछि रोक्न आएका दाजु मोतीरामलाई श्यामकुमारले छातीमा धारिलो हतियारले प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका मोतीरामलाई तत्काल छिमेकीले लहानस्थित प्रादेशिक अस्पताल पुर्याएको र उपचारका क्रममा उहाँको मृत्यु भएको थियो ।

हत्यापछि फरार रहेका श्यामकुमारलाई प्रहरीले सिराहाको दक्षिणी सीमावर्ती क्षेत्र औरही गाउँपालिका–३, जमुवा नहरको बाटो हुँदै भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उक्त गाउँ भारत–नेपाल सीमाबाट करिब तीन किलोमिटरभित्र पर्छ ।

पक्राउ परेका श्यामकुमार सदालाई आइतबार जिल्ला अदालत सिराहाबाट पाँच दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन ।

प्रहरीले घटनामा प्रयोग गरिएको धारिलो हतियार बरामद गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा आरोपितले अपराध स्वीकार गरेको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us