मकवानपुर, २८ भदौ– दसैंका लागि खसी किन्न गाउँ छिरेका व्यापारीलाई भीरबाट लडाएर हत्या गरेको आरोपमा प्रहरीले तीन चेपाङ युवालाई पक्राउ गरेको छ ।
मनहरी–७ का ५२ वर्षीय विकास कालाखेतीको हत्या आरोपमा सरिखेत–८ राम्चेका १८ वर्षीय एस्पोल चेपाङ, २२ वर्षीय सञ्चलाल चेपाङ र २४ वर्षीय गणेशलाल चेपाङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत भदौ १६ मा कालाखेतीको हत्या गरेर उनीहरुले पैसा र मोबाइल लुटेका थिए । स्थानीय बासिन्दाले गत २५ मा उनको शव राम्चे भीरमा फेला पारेका थिए ।
कालाखेती दसैंका लागि खसी किन्न एक लाख ९५ हजार रुपैयाँ बोकेर गत भदौ १५ मा घरबाट हिंडेका थिए । उनको हत्यापछि सञ्चलाल र गणेश गाउँमै बसेका थिए भने एस्पोल पत्नीसहित मनहरी बजार झरेका थिए ।
एस्पोल पक्राउ परेपछि उनकै बयानका आधारमा अन्य दुईलाई नियन्त्रणमा लिइएको हो ।