कृष्ण सिटौलाको तर्कः ज्ञानेन्द्रले दल खोल्न मिल्छ, विद्या भण्डारी राजनीतिमा आउन मिल्दैन

काठमाण्डु टुडे २०८२ साउन ११ गते १४:०२ मा प्रकाशित

काठमाण्डू, ११ साउन–कांग्रेस पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने बताएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सिटौलाले नीतिगत हिसाबमा पूर्वराष्ट्रपतिले राजनीति गर्न नमिल्ने स्पष्ट गरे । राष्ट्रप्रमुखको सम्मान पाएको राष्ट्रपति दलगत राजनीतिमा आउन नमिल्ने तर्क उनको थियो ।

‘हाम्रो संविधानले राष्ट्रपतिलाई राष्ट्र प्रमुखको सम्मान दिएको छ’, सिटौलाले भने, ‘राष्ट्रपति भइसकेको व्यक्ति त्यही कारणले राजनीतिमा आउन मिल्दैन भनेको हो ।’

पूर्वराष्ट्रपति भण्डारीले गत १४ असारमा आफ्ना दिवंगत पति एवं तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पार्टी सदस्यता नवीकरण गसिरकेकाले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

तर, गत साता सम्पन्न एमाले सचिवालय, पोलिट्ब्युरो र केन्द्रीय समितिले भण्ठडारीलाई सक्रिय राजनीतिमा फर्कन निषेध गर्ने निर्णय गरेको छ । सिटौलाले एमाले निर्णयको समर्थन गरे ।

यद्यपि पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि राजनीतिमा आउन छुट रहेको तर्क सिटौलाको थियो । पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्रप्रमुखको सम्मान नदिएकाले उनको हकमा फरक हुने बताए ।

राप्रपासहित राजावादी समूहले ज्ञानेन्द्रलाई गद्धीमा फर्काउने भन्दै केही महिनाअघि गरेको आन्दोलनको प्रतिवाद गर्ने क्रममा मुलधारका रानजीतिक दलका नेताले राजनीति गर्न मन भए दल खोलेर चुनावी प्रतिस्पर्धामा आउन उनलाई चुनौती दिएका थिए ।

‘ज्ञानेन्द्रलाई हामीले राष्ट्रप्रमुख मानेका थिएनौ र छैनौं। ज्ञानेन्द्रलाई हामीले राष्ट्रप्रमुखको सम्मान दिएका थिएनौँ । त्यस्ले उनको र राष्ट्रपतिको विषय फरक हो’, सिटौलाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us