काठमाण्डू, ११ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले माओवादी अहिले बिरामी अवस्थामा रहेको तर्क गरेका छन । शनिबार काठमाण्डूको तीनकुनेमा युथ भिजन नेटवर्कद्वारा आयोजित ‘विद्यार्थीसँग जनप्रतिनिधि’ शृङ्खलाको तेस्रो भाग अन्तर्गत आयोजित एक कार्यक्रममा पूर्व मन्त्री किराँतीले यस्तो बताएका हुन ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले सांसद किरातीसँग उहाको राजनीतिक यात्रा, सांसद भएपछि गरिएका कामहरू, मन्त्री रहँदाको अनुभव, पछिल्लो ओली सरकारको मूल्यांकन तथा आगामी ०८४ को निर्वाचनमा माओवादीको रणनीति र लक्ष्यबारे विविध प्रश्नहरू राखेका थिए। विद्यार्थीका प्रश्नहरूको जवाफ दिँदै सांसद किरातीले माओवादी पार्टीको वर्तमान अवस्थाबारे प्रष्ट धारणा राख्दै भने, ‘माओवादी अहिले बिरामी परेको छ ।’
उनले २०६४ सालमा देशको सबैभन्दा ठूलो पार्टी बनेको माओवादी अहिले चौथो स्थानमा झरेको उल्लेख गरे। सांसद किरातीले हालैको ओली सरकारको पनि आलोचना गरेका छन । उनले सरकार जनताको भावना सम्बोधन गर्न असफल भएको र आमजनताको पक्षमा ठोस काम गर्न नसकेको बताए ।
कार्यक्रममा सांसद किरातीले युवाहरूसँग खुला संवाद गर्दै उनीहरूको जिज्ञासाको स्पष्ट र निडर उत्तर दिएका थिए । युथ भिजन नेटवर्कद्वाराको आयोजनामा सम्पन्न यस अन्तरक्रियात्मक कार्यक्रमले विद्यार्थी र जनप्रतिनिधिबीचको सम्बन्ध अझ नजिक बनाउने प्रयास गरेको आयोजकले जानकारी दिएको छ ।