काठमाण्डू, १० साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी र नेतृत्वविरूद्ध भइरहेका योजनाबद्ध षड्यन्त्र भएको बताएका छन् ।
पार्टी सम्वद्ध गुल्मी–काठमाण्डू सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा गरेको कार्यक्रमा उनले त्यस्तो षड्यन्त्र परास्त गर्न नेता, कार्यकर्ता र समर्थकलाई अपिल गरे । विगतमाजस्तै माओवादी पार्टी र नेतृत्वलाई कमजोर पार्ने कोसिस अगाडि आएको उनको भनाइ थियो ।
‘पार्टीलाई फेरि एकपटक घेरा हाल्ने र सखाप पार्ने प्रयास भइरहेको छ’, प्रचण्डले भने, ‘प्रतिक्रियावादीहरूले केही व्यक्तिलाई उचालेर, लगानीसमेत गरेर आन्दोलनविरूद्ध भ्रम फैलाउने काम भएको छ ।’
आफू नेतृत्वको सरकारले जनमुखी काम अगाडि बढाएपछि अत्तालिएका बिचौलियो, दलाल, माफिया र नोकरशाह मिलेर सरकार ढालेको उनले बताए । सरकार ढाल्न सक्रिय भएका बिचौलियाले नै पार्टी कमजोर पार्न लगानी गरेको दाबी उनको छ ।
सुशासन र सामाजिक न्यायका पक्षमा खबरदारी जारी राखेका कारण सरकारबाट बाहिरिएपछि पनि पार्टी र नेतृत्वविरूद्धको षड्यन्त्र नरोकिएको उनको भनाइ थियो ।
फरक प्रसंगमा उनले कांग्रेस–एमालेसँगको चुनावी सहकार्यले जनतामा निराशा बढाएकाले अबको चुनाब एक्लै लड्ने बताए ।