काठमाण्डू, १० साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका केही नेता प्रतिक्रियावादी र दलालहरुको उक्साहटमा लागेको आरोप लगाएका छन् ।
पार्टी निकट शिक्षकहरुको भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्ने क्रममा उनले उपमहासचिव जनार्दन शर्मालाई लक्षित गरी उक्त अभिव्यक्ति दिएका हुन् ।
तर, प्रचण्डले शर्माको नाम भने लिएनन् । पार्टीमा कुनै राजनीतिक र वैचारिक विवाद नभएका बेला दलाल र प्रतिक्रियावादीको उक्साहटमा केही मानिस लागेको टिप्पणी उनको थियो ।
शर्माले केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा मनमोहन अधिकारीपछिका सबै कम्युनिष्ट प्रधानमन्त्री भ्रष्ट रहेको आरोप लगाएका थिए । उनले प्रचण्डले पार्टी नेतृत्व छाड्नुपर्ने भन्दै फरक मत नै दर्ज गराएका छन् ।
‘एकाध मान्छेका असन्तुष्टि, कुण्ठा या प्रतिक्रियावादी र दलालहरुका उक्साहटमा गएर हाम्रो पार्टीमा कुनै संकट वैचारिक राजनीतिक पनि छैन । नेतृत्वको संकट पनि हाम्रो पार्टीमा छैन’, उनले भने ।
उनले बरु काँग्रेस र एमालेमा ठूलो वैचारिक र नेतत्वको संकट रहेको दाबी उनले गरे । सरकार चारैतिरबाट असफल र घृणाको शिकार भएको भन्दै प्रचण्डले यो परिस्थतिलाई क्यास गर्न सके माओवादी आगामी निर्वाचनबाट ‘रिभाइब’ हुने बताए ।
गठबन्धनभिैबाट संविधान र गणतन्त्र विरोधी र भ्रष्टाचारी सरकारलाई छिटोभन्दा छिटो हटाउन केही मानिस सक्रिय रहेको उनले दाबी गरे ।