काठमाण्डू, १० साउन–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले तत्कालीन महासचिव मदन भण्डारीका ४ श्रीमती रहेको भन्ने आरोपबारे मुख खोलेका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भण्डारीले जबजको आधिकारिकता आफूसँग रहेको बताएपछि ओलीले भण्डारीमाथि चार श्रीमती रहेको र सहकारी ठगीमा संलग्न रहेको जस्ता आरोप लगाएको बताएका हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को सच्चा उत्तराधिकारी आफू भएको दाबी गरेपछि एमालेमा संकट गहिरिएको उनको भनाइ थियो । ‘एमालेभित्र अहिले वैचारिक, राजनीतिक र नेतृत्वको संकट देखिएको छ । त्यो पार्टी आजसम्म मदन भण्डारी र जबजको आधारमा अडिएको थियो । अहिले भने जबजको उत्तराधिकारी को हो भन्ने गम्भीर संकट उत्पन्न भएको छ’, प्रचण्डले भने, ‘मदन भण्डारीसँग सम्बन्धित एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीजीले मदन भण्डारीका ४ वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भन्ने कुराबाट सुरु भएको प्रक्रिया अहिले पक्कै पनि पूर्वराष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढंगले अघि आउनुभएको छ । यो संकट गहिरिने देखिएको छ । यो ठूलो ‘आइडोलोजिकल’, ‘पोल्टिकल’ ‘क्राइसिस’ हो ।’
मदन भण्डारी फाउण्डेशनले भण्डारीको जन्मजयन्तीका अवसरमा गत १४ असारमा राजधानीमा कार्यक्रम आयोजना गरेको थियो । ओली उक्त कार्यक्रममा प्रमुख अतिथि थिए । सोही कार्यक्रमबाट पूर्वराष्ट्रपति भण्डारीले आफूले पार्टी सदस्यता नवीकरण गरिसकेकाले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन् । भण्डारीभन्दा अघि बोलेका ओलीले मदनका ४ श्रीमती रहेको र सहकारी ठगीमा संलग्न रहेको जस्ता आरोप लागेको बताएका थिए ।