कुलिङ अफ पिरियडमा एमालेले म्याउँ ग-यो, ओलीमाथि छानबिन हुनुपर्छः प्रचण्ड

काठमाण्डु टुडे २०८२ साउन १० गते १४:०२ मा प्रकाशित

काठमाण्डू, १० साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजामती कर्मचारीसम्बन्धी विधेयकमा छलछाम गरी कुलिङ पिरियडको प्रावधान हटाउने लेखमा सरकार नेतृत्वकर्ता एमाले संलग्न रहेको आरोप लगाएका छन् ।

पार्टी सम्वद्ध शिक्षकहरुलाई काठमाण्डूको सितपाइलामा शनिबार राजनीतिक प्रशिक्षण दिने क्रममा उनले कुलिङ अफ पिरियडमा एमोले नै षड्यन्त्र गरेको बताए ।
कुलिङ अफ पिरियडमा भएको छलछामकै पक्षमा एमालेले राष्ट्रियसभामा संशोधन हालेको उनको भनाइ थियो ।

‘पहिले दुई वर्षे कुलिङ अफ पिरियडको पक्षमा संशोधन हाल्ने भनेर सबैले भनेका हुन्’, प्रचण्डले भने, ‘अहिले त्यो राख्न हुन्न भनेर बिरालोले अन्तिममा म्याऊ गरिछाड्यो भनेजस्तै एमालेले म्याऊ गरी नै हाल्यो । उसको नै रहेछ यसका विरूद्ध षड्यन्त्र गर्ने नियत ।’

कुलिङ अफ पिरियडमा भएको छलछाम र षय्यन्त्रको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने प्रचण्डले स्पष्ट गरे । प्रचण्डले कुलिङ अफ पिरियडमा प्रधानमन्त्री ओलीमाथि छानबिन हुनुपर्ने तर्क गरे ।

‘शंकाको सुई पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो । तर ठोस रूपमा भन्ने आधार थिएन । अहिले एमालेका सांसदहरूले गरेको गतिविधि र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो’, उनले भने, त्यसकारण छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us