काठमाण्डू महानगरपालिकाभित्र सार्वजनिक स्थलमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने

काठमाण्डु टुडे २०८२ साउन ९ गते १७:०४ मा प्रकाशित

काठमाण्डू, ९ साउन– काठमाण्डू महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिराउने भएको छ । हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष ०८२–८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो ।

काठमाण्डू महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्यधिक धूम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन ।

उनले भने, ‘सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने व्यवस्था हुँदाहुँदै धूम्रपान भएको गुनासा हाम्रो हटलाइनमा धेरै आएको थियो । हालैको नगरसभाबाट पास भएको आर्थिक ऐन अनुसार प्रत्येक पटक पाँच सय जरिवाना गर्ने निर्णय भएको छ ।

निजी सम्पत्ति बाहेकका अन्य स्थलहरू धूम्रपान निषेध गरिएको छ ।’ पाण्डेका अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरे सबै किसिमका मोटरसाईकल स्कुटरलाई एक हजार जरिवाना गरिनेछ ।

सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जिप, डेलिभरी भ्यान) लाई २५०० जरिवाना गरिनेछ । मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई ३ हजार ५ सय जरिवाना गरिँदैछ । सबै किसिमका ठूला सवारी साधन बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us